कोशी लगानी प्राधिकरण तथा कोशी प्रदेश सरकारको अनुमतिमा उक्त क्षेत्रमा पहिलो चरणको काम सुरु हुन लागेको हो ।
नेपाल पोडवे कम्पनीको लगानी तथा प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक उक्त क्षेत्रमा पोडवे निर्माणको काम सुरु हुन लागेको हो । कोशी प्रदेश सरकारले पोडवे का लागि आवश्यक डीपीआरको तयारी गरेको पोडवे नेपालले पनि बताएको छ।
कम्पनीले आवश्यक शुल्क बुझाई आवेदन गरिसकेकाले डीपीआरको स्वीकृति छिट्टै पाउने आवेदक कम्पनी जमादार ग्रुप अफ कम्पनीका प्रमुख अमित अग्रवालले बताए । उनले मन्त्रालयले स्वीकृति दिएको एक वर्षभित्रमा रानी देखि धरान सम्म डीपीआर र ७ किलोमिटर क्षेत्रमा निर्माण गर्ने योजना रहेको बताए।
पोडवे नेपालले कोसी प्रदेशअन्तर्गत जोगवनी–धरान–चतराखण्ड हुँदै पूर्व जोड्नेगरी ८३ किलोमिटरमा पोडवे विस्तार गर्न सकिने गरी पूर्व साम्भाव्यता अध्ययन गरिसकेको छ । पहिलो चरणमा ७ किलोमिटर क्षेत्रमा मात्रै डीपीआर गरी निर्माणको तयारी थालिएको हो ।
संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोशी प्रदेश सरकारलाई मंसिर ११ गते एक पत्र पठाउँदै पोडवेका लागि डीपीआर गर्न रानी – धरान सडकको मिडियन भाग प्रयोग गर्न सहमति दिएको थियो ।
‘रानी विराटनगर धरान सडक खण्ड’ को मिडियनको जग्गा प्रयोग गरी पोड वे(मोनो रेल )निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न सहमति दिइएको भन्दै पत्राचार गरेको थियो ।
मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई सडकमा पछि कुनै असर पर्ने भएमा सोही बखत छुट्टै निर्णय हुने गरी पूर्व सम्भाव्यता अध्ययन गर्ने सहमति दिइएको जनाएको थियो । मंसिर ६ गते मन्त्रिस्तरीय निर्णय भएको भन्दै सम्भाव्यता अध्ययनका लागि सहजीकरण गरिदिन मन्त्रायलले कोशी प्रदेश सरकारलाई पत्राचार गरेको थियो ।
कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले पोडवे निर्माणको तयारी भएको जनाए । उनले निजी क्षेत्रको सहयोगमा पहिलो चरणमा ७ किलोमिटर क्षेत्रमा निर्माणका लागि तयारी थालिएको बताए ।
‘जमादार ग्रुप अफ कम्पनी हेटौँडाले हामीलाई पोडवे निर्माणका लागि प्रस्ताव गरेको थियो । हामीले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धान तथा केन्द्र सरकारको सहयोगमा लगभग अन्तिम चरणमा पुगेका छौँ । अब बस्ने प्राधिकरण बोर्ड बैठकमा पेश गरिने उनले बताए।
उनले अब बस्ने बैठकमा प्राधिकरणले डीपीआरका लागि प्रस्ताव पेश गर्ने बताए ।
जमादार ग्रुप अफ कम्पनीका अमित अग्रवालले पोड्वे नेपाल कम्पनीको प्राविधिक सहयोगमा कोशीमा पोडवे निर्माणको तयारी थालिएको बताए । उनले २५ करोड रुपैयाँ लगानीमा डीपीआर निर्माणका लागि अनुमति मागिएको भन्दै थप लगानीका लागि राष्ट्रिय तथा अन्तरास्ट्रिय कम्पनीसँग सहकार्य हुने बताए ।
‘हामीले अहिले डीपीआर बनाउन २५ करोड लगानी गर्ने गरी कोशी प्रदेश सरकारसँग आवेदन गरेका छाैँ । उहाँहरुले प्रारम्भिक स्वीकृति पनि दिइसक्नुभयो । डीपीआर तयार भएपछि थप निर्माणका लागि हामीले स्वदेशी तथा विदेशी कम्पनीसँग सहयोग लिने हो । हामीलाई लगानी गर्न स्वदेशी तथा विदेशी कम्पनीहरु तयार छन्, जति छिटो हामीलाई सरकारले अनुमति दिन्छ, त्यति छिटो हामीले निर्माण सक्छौं ’, अग्रवालले भने ।
