काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
आयोजक बागमती र एन.आर.टी. फाइनल प्रवेशका लागि साँझ ५ बजेर ३० मिनेटमा त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आमने सामने हुन लागेका हुन् । आयोजक बागमती विभागीय टोली नेपाल पुलिसलाई क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
यसैगरी एन.आर.टी.ले भने फ्रेन्ड्स क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । आजको विजेताले माघ १७ गते हुने उपाधि भिडन्तमा संकटा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीलाई ’म्याच मनी’ स्वरुप नगद ५० हजार समेत प्रदान गरिने छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप भइरहेको हो ।