आजदेखि मेची राजमार्ग अनिश्चितकालका लागि बन्द

 संवाददाता    २०८१, १५ माघ मंगलवार १०:२५     97 जनाले पढ़िसके



Spread the love

ताप्लेजुङ । साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्ग आज देखि अनिश्चितकालका लागि बन्द आब्हान गरिएको छ ।

ताप्लेजुङको पाथीभरा ‘मुक्कुमलुङ’ संरक्षण अन्तरदलीय संघर्ष समितिले माघ १२ गतेको घटनाको निन्दा गर्दै बन्द घोषणा गरेको हो । पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने लगायतका माग राखेर मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुम बाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङ भित्र यातायात बन्द घोषणा भएको हो ।

राजमार्ग बन्द हुँदा ४ जिल्लाको जनजीवन प्रभावित हुने सम्भावना छ । ताप्लेजुङमा गत माघ १३ मा जनप्रदर्शनका क्रममा प्रहरी र स्थानीय बीच झडप भएको थियो । झडपमा प्रहरीले गोल प्रहार गर्दा स्थानीय युवा घाइते भएपनि आन्दोलन कार्यक्रम घोषणा भएको हो ।

धार्मिक स्थललाई युद्ध मैदानमा परिणत गरी ताप्लेजुङलाई अशान्त बनाइएको उनीहरुको आरोप छ । यसै बीच ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको विवादको विषयमा छलफल गर्न गृह मन्त्री रमेश लेखकले आज ताप्लेजुङ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाएका छन् ।

प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेवेलाई छलफलका लागि बोलाइएको हो । ताप्लेजुङको पाथीभरादेवीको मन्दिर सम्म केवलकार सञ्चालनका लागि निर्माणको विरुद्ध स्थानीय बासिन्दा लामो समयदेखि आन्दोलित छन् ।

’मुक्कुमलुङ’ पुरानो नाम रहेको पाथीभरालाई लिम्बु समुदायले आफ्नो धार्मिक र सांस्कृतिक महत्वको स्थानका रुपमा लिन्छन् । त्यहाँको सम्पदा र संस्कृति प्रति अतिक्रमण हुने भन्दै नो केवलकार अभियान चलिरहेको छ ।