काठमाडौं । सभापति कप फुटबलको पहिलो सेमिफाइनलमा आज संकटा एफसी र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० बजे सुरु हुनेछ । संकटाले पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।यस्तै मछिन्द्रले विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराएर सेमिफाइनल यात्रा तय गरेको हो । विजेताले फाइनलमा आयोजकको लोकतान्त्रिक बागमती र एनआरटीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल मंगलबार हुनेछ भने फाइनल बिहीबार हुनेछ । सभापित कप फुटबलको विजेताले नगद २६ लाख प्राप्त गर्नेछ भने उपविजेताले १३ लाख हात पार्नेछ ।