युरोपियन फुटबलमा अञ्जिलाको डेब्यु

 संवाददाता    २०८१, १३ माघ आईतवार १४:०८     103 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले युरोपियन फुटबलमा डेब्यु गरेकी छन्। ग्रिसको शीर्ष डिभिजिन महिला लिगमा उनले शनिबार पहिलो खेल खेलेकी हुन्।

अञ्जिला ग्रिसको नीस अट्रोमिटौबाट डेब्यु खेलमै सुरुवाती ११ मा परेकी थिइन्। तर उनको टोली ४–० ले ओएफआई एफसीसँग पराजित भयो। ११ खेलबाट ओएफआई २२ अंकसहित तालिकाको शीर्ष २ मा छ। अञ्जिलाको टोली समान खेलबाट ९ अंसहित नवौँ स्थानमा छ। लिगमा १२ टोली समावेश छन्।

नेपालबाट युरोपियन फुटबल खेल्ने अञ्जिला दोस्रो खेलाडी हुन्। यसअघि महिला टोलीकै फर्वाड सावित्रा भण्डारीले इजरायल र फ्रान्सबाट खेलेकी छन्। अहिले पनि सावित्रा फ्रान्सको लिग खेलिरहेकी छन्।

अञ्जिलालाई ग्रिसको क्लबले भदौमै अनुबन्ध गरेको थियो। तर उनी आधा सिजन सकिएपछि मात्रै क्लबसँग जोडिएकी हुन्। उनलाई अट्रोमिटौले यही सिजनको लागि मात्रै अनुबन्ध सम्झौता गरेको छ।

अञ्जिलाले यसअघि नेपालबाहिर भारत र पाकिस्तानका लिग खेलेकी छन्। भारतको सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन्। यी दुवै टोलीमा अञ्जिला कप्तान पनि थिइन्।