नेदरल्याण्ड्सको सङ्ग्रहालयबाट चोरी भए सुनका कलाकृति

 संवाददाता    २०८१, १३ माघ आईतवार १४:०६     159 जनाले पढ़िसके



Spread the love

आम्स्टर्डम । नेदरल्याण्ड्सको एक सङ्ग्रहालयमा चोरीको घटना बाहिर आएको छ । रातारात चोरहरूले सुनबाट बनेका चार वटा प्राचीन कलाकृतिहरू चोरेर लगेका छन् । घटना शनिवार बिहान सबेरैको भएको बताइएको छ ।

चोरहरूले एसेनको ड्रेन्ट्स सङ्ग्रहालयमा प्रवेश गर्न विस्फोटक पदार्थ प्रयोग गरेका थिए । यस सङ्ग्रहालयमा सुन र चाँदीबाट बनेका रोमानियाली गहना प्रदर्शनीमा राखिएका थिए ।

चोरहरूले कोटोफेनेस्टीबाट तीन वटा डासियन सर्पिल ब्रेसलेट र आकर्षक ढंगले सजाइएको एउटा हेलमेट लगेका छन् । यो हेलमेट लगभग २ हजार ५०० वर्ष पुरानो थियो । प्रदर्शनीको आकर्षणको केन्द्र यही हेलमेट थियो । रोमानियाको संस्कृति मन्त्रालयले चोरी भएका वस्तुहरू प्राप्त गर्न हर सम्भव उपायहरू अपनाउने वाचा गरेको छ ।

रोमानियाले डच सङ्ग्रहालयलाई ती सामान उधारोमा प्रदर्शनीमा राख्न दिएको थियो । चोरीको घटनाबाट कर्मचारीहरू निकै स्तब्ध भएको ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक ह्यारी टुप्पेनले बताएका छन् । यसलाई उनले १७० वर्षको इतिहासमा सबैभन्दा ठुलो घटना भनेका छन् ।