स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

 संवाददाता    २०८१, ७ माघ सोमबार १४:४१     33 जनाले पढ़िसके



Spread the love

मलेसियामा जारी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अन्तिम ७ बल अघि नै अलआउट हुँदै ७३ रनमा समेटिएको हो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। साबित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर साना प्रधान १ रनमा आउट हुँदा ज्योत्स्निका मरासिनी र किरण कुँवरले समान ४ रन बनाए। सीमाना केसी १, एलिसा यादव ३ र रिया शर्मा २ रन बनाउँदै आउट भए। रचना चौधरीले शून्य रनमै आउट हुँदा अनु कडायत ५ रनमा नटआउट रहिन्।

स्कटल्यान्डका लागि मइसी मसेइराले ५ विकेट लिइन्। अमेली बाल्डी र नयमा सेखले समान २ विकेट तथा क्रिस्टी मक्कुलले एक विकेट लिइन्।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल सिपर ६ मा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा छ। तर ब्याटिङ राम्रो हुन सकेन।