रूस–युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

 संवाददाता    २०८१, ८ पुष सोमबार १५:११     92 जनाले पढ़िसके



Spread the love

काठमाडौं। दक्षिण कोरियाले रूस–युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ ।

दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई बुझाएको थियो । त्यसयता थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको बताइएको छ ।

’सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार एक सय उत्तर कोरियाली सैनिक मारिएको आँकलन गरेका छौँ,’ दक्षिण कोरियाली सेना प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाले रूसलाई सहयोग गर्न थप उत्तर कोरियाली सैनिक तैनाथ गरिने सम्भावना रहेको जनाएको छ ।प्योङयाङले पूराना सैनिकलाई फिर्ता बोलाएर वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको बताइएको छ । युक्रेनविरुद्धको लडाईमा रुसलाई थप सहयोग गर्न उत्तर कोरियाले ’आत्म–विनाशकारी ड्रोनहरूको उत्पादन गर्न र उपलब्ध गराउन लागेको’ दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ ।

उत्तरले रूसी सेनाका लागि २४० एमएम रकेट लन्चर र १७० एमएम सेल्फ–प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस–युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिणको दाबी छ ।