तरुण दलका केन्द्रीय सदस्य र काभ्रेका अध्यक्षसहित ८ जना पक्राउ

 संवाददाता    २०८१, ६ पुष शनिबार २१:४२     114 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र काभ्रेका अध्यक्ष सुजन तामाङसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको एक रेस्टुरेन्टमा भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कुलध्वज र सुजनसहित पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा रहेका छन् ।

उनीहरूले रेस्टुरेन्टमा बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टलाई कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार घाइते भट्टको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय सदस्य कुलध्वजविरुद्ध पनि २०६९ सालमा ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त दरबारमार्गबाट मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७२ सालमा उनी चोरी मुद्दामा ११ महिना धुलिखेल कारागारमा बसेका थिए ।

त्यस्तै, तरुण दल काभ्रेका अध्यक्ष तामाङ यसअघि पनि ज्यान माने उद्योगमा ललितपुर प्रहरी परिसरबाट मुद्दा दर्ता भएका व्यक्ति हुन् ।