सिरियामा विभिन्न ठाउँमा सामूहिक चिहानहरू फेला

 संवाददाता    २०८१, ३ पुष बुधबार १०:३२     101 जनाले पढ़िसके



Spread the love

एजेन्सी । सिरियामा विभिन्न ठाउँमा सामूहिक चिहानहरू फेला परेको छन ।

राजधानी दमास्कस नजिकै पर्ने अल कुतयफाह र नजहा शहरमा दुई वटा यस्तै सामूहिक चिहान फेला परेका छन् । ती दुवै सामूहिक चिहानको स्थलगत भ्रमण पछि बोल्दै अन्तर्राष्ट्रिय युद्ध अपराध अभियोजक तथा युद्ध अपराध सम्बन्धी अमेरिकी पूर्व विशेष दूत स्टिफेन र्‍यापले यी सामूहिक चिहानले असद शासनमा राज्य संचालित ‘मृत्यु–संयन्त्र’ लाई उदांगो पारिदिएको बताएका छन् ।

मृत्युको यो मशिनरी अन्तर्गत सन् २०१३ यता एक लाख भन्दा बढी मानिसलाई यातना दिएर मारिएको अनुमान रहेको स्टिफेनको भनाइ छ । राजधानी दमास्कस बाट करिब ४० किलोमिटरको दूरीमा रहेको अल कुतयफाह शहरमा फेला परेको चिहानमा मात्रै कम्तीमा एक लाख जनाको शव गाडिएको हुन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार कुतयफाह शहरमा रहेको चिहान देशभरमा पहिचान गरेका पाँच चिहान मध्ये एक हो । राष्ट्रपति बसर अल असद सरकारको पतन पछि देशका विभिन्न ठाउँमा सामूहिक चिहानहरू अझै फेला पर्न सक्ने अनुमान छ ।

देशमा पाँच वटा भन्दा पनि बढी सामूहिक चिहान रहेको बताइन्छ । चिहानमा सिरियाली नागरिकका अतिरिक्त अमेरिकी, बेलायतीका साथै अन्य विदेशी नागरिकका शव पनि गाडिएको हुन सक्ने बताइन्छ । सन् २०११ मा सिरियामा गृह युद्ध शुुरू भए यता करिब पाँच लाख मानिस मारिएका थिए भने लाखौं विस्थापित भएका थिए ।