नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध काठमाडौं गुर्खाज् एक विकेटले विजयी भएको छ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले नौ विकेटको क्षतिमा १८.१ ओभरमा पूरा गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले ११७ रनको योगफल बनाएको थियो।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाउँदा दिपक बोहराले २०, स्कट एडवार्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले अविजित १२ रनको योगदान गरे। लोकेश बम ८ रन बनाएर पेभिलियन फर्किँदा सुवास भण्डारी ६ तथा स्मात अलाम पाँच रन जोडेर आउट भए। सन्दीप लामिछाने शून्य रनमा आउट हुँदा अनिल खरेल कुनै रन नजोडी अविजित रहे।
काठमाडौंका गेर्हार्ड इरास्मसले तीन तथा दिपेश कँडेलले दुई विकेट लिँदा साहब अलाम, करण केसी र ड्यान डौथवेटले समान एक विकेट लिए।
विराटनगरले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौंका प्रतिक श्रेष्ठले ३९ रनको योगदान गरे। शंकर राना र दिपेश कँडेल क्रमशः १६ र ११ रन जोडेर अविजित रहँदा रासिद खान १४, गेर्हार्ड इरस्मस १२ र माइकल लेभिट १० रन बनाएर पेभिलियनको बाटो लागे। साहब अलाम दुई तथा स्टेफन स्किनाज, भीम सार्की र ड्यान डौथवेट एक रन मात्र बनाएर आउट भए।
प्रतियोगिताको अन्तिम खेलमा विराटनगरका क्याप्टेन सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए।