काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न कीर्तिमानी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।
क्यानमा सचिव पारस खड्काले ‘सुखत आश्चर्य’ भन्दै लारा नेपाल आउन लागेको सार्वजनिक गरेका हुन् । तर, उनी कहिले आउने खुलाइएको छैन । क्यान स्रोतका अनुसार यही साता उनी नेपाल आउने कार्यक्रम तय भएको छ।
वेष्ट इन्डिजका पूर्वखेलाडी लाराका नाममा क्रिकेटका अनेक कीर्तिमान छन्। टेष्ट क्रिकेटकै एकै इनिङमा सर्वाधिक चार सय रन बनाउने कीर्तिमान उनको नाममा छ । सन् २००४ मा इंल्याण्डविश्रद्धको खेलमा चार सय रनको नटआउट पारी खेलेका थिए । फष्ट क्लास क्रिकेटमा त उनले पाँच सय एक रन बनाएका थिए ।
उनकै कप्तानीमा वेष्ट इन्डिजले सन् २००४ मा च्याम्पियन ट्रफी जितेको थियो । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका लारालाई क्रिकेटप्रेमीहरूले ‘लेजेन्ड’का रुपमा सम्मान गर्दछन्।