कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेको छ। मंगलबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो। कप्तान रोहितले चार विकेट लिनुको साथै सर्वाधिक ८० रन बनाए।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ रोजेको लुम्बिनीले कप्तान रोहितकुमारको अर्धशतक मद्दतमा १६८ रनको लक्ष्य प्रस्तुत गर्याे। प्रत्युत्तरमा चितवनले पूरा २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन मात्र बनायो।
यसअघि लुम्बिनी विराटनगरसँग दुई विकेट, पोखरासँग १० विकेट, सुदूरपश्चिमसँग ४५ रन तथा जनकपुरसँग एक रनले पराजित भएको थियो।
चितवन भने चौथो जितबाट टाढा रह्यो। चितवनले काठमाडौंलाई पाँच विकेट र पोखरालाई ८७ रनले हराउँदा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो। चौथो खेलमा पुनः सुदूरपश्चिमलाई ३३ रनले हराएको थियो। प्रतियोगितामा लगातार चार खेल जितेको जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ।
चितवनका लागि लक बेनकेइस्टेनले सर्वाधिक ३१ रन बनाए। कप्तान कुशल मल्लले २० र रिजन ढकालले १५ रन बनाउँदा नार सार्की २२ रनमा अविजित रहे। यसबाहेक रवि बोपराले १२ र ओपनर सन्तोष कार्कीले १० रनको योगदान गर्दा अन्य खेलाडी चल्न सकेनन्। ओपनर विपिन रावल पाँच, सोहेल तनविर एक, जान निकोल लिफ्टन इटन र अमर रौटेलाले समान ६ रन बनाए।
लुम्बिनीको लागि कप्तान रोहितले सर्वाधिक चार विकेट लिए। उनले जम्मा १७ रन खर्चेका थिए। रेमान सिमोन्ड्सले दुई विकेट हात पारे भने सादविन जफर र अभिषेक गौतमको नाममा एक विकेट रह्यो।
यसअघि टस हारेको लुम्बिनीका लागि कप्तान रोहितले ५७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८० रन बनाए। रोहितले यसअघि दुई चौका र तीन छक्कासहित ५० रन बनाएका थिए।
साद विन जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाए। जफरले चार चौका र ६ छक्कासहित ५० रन बनाएका हुन्। रोहित र जफरबिच ११४ रनको बलियो साझेदारी भएको थियो। यही साझेदारीले लुम्बिनीलाई बलियो स्थितिमा पुर्याएको थियो।
ओपनर अर्जुन साउदले १५ रन बनाउँदा अर्का ओपनर १ तथा तेस्रो नम्बर क्रिजमा पुगेका उन्मुक्त चन्द गोल्डेन डकआउट भए। टम मुर्सले १० तथा सन्दीप जोरा चार रनमा अविजित रहे।
आज नै हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखराबिच प्रतिस्पर्धा हुँदै छ।