अन्जिलाले युरोपेली लिग खेल्ने

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १०:४८     53 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले ग्रिसको सुपर लिग क्लब निस अत्रोमितोउबाट खेल्ने भएकी छिन् । अन्जिलाको बायोपिक ‘अन्जिला’को प्रिमियर हङकङमा हुँदै छ ।

प्रिमियर सो हेर्न उनी शुक्रबार हङकङ जाँदै छिन् । त्यतैबाट १२ डिसेम्बरमा अन्जिला ग्रिसको राजधानी एथेन्स उड्नेछिन् । युरोपेली फुटबल लिग खेल्ने उनी दोस्रो नेपाली फुटबलर हुन् । यसअघि राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्सको फ्रेन्च लिग वानमा आबद्ध छिन् ।

‘लामो प्रयासपछि युरोपेली फुटबलमा पाएको अवसरमा एकदम खुसी लागेको छ,’ २७ वर्षीया अन्जिलाले भनिन्, ‘सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अरू नेपाली खेलाडीका लागि बाटो खुला गर्ने प्रयास हुनेछ ।’ उनले स्विडिस एजेन्टमार्फत ग्रिसको निस अत्रोमितोउ क्लबसँग गत सेप्टेम्बरमा सम्झौता गरेकी थिइन् ।

भिसा प्रक्रिया र साफ महिला च्याम्पियनसिप २०२४ खेल्न राष्ट्रिय टोलीसँग आबद्ध रहेकाले उनले ग्रिस सुपर लिगका सुरुवाती खेल गुमाइन् । उनले क्लबसँग मे २०२५ सम्मका लागि हस्ताक्षर गरेकी छिन् ।