नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

 खेल समाचार     २०८१, १३ कार्तिक मंगलवार १७:०८     178 जनाले पढ़िसके



Spread the love

एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ। जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ। प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ। यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ।

एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ। टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ। त्यस्तै एन्फाले टिकटमा पनि सीमितता तोकेको छ। जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन्। साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ।

आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो। यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो।

फिफा नियमअनुसार रंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्ने नियम छ। तर आइतबारको नेपाल–भारतबीचको सेमिफाइनल खेलमा टिकट बेच्ने जिम्मा लिएको कम्पनीले हेलचक्र्याइँ गरेको एन्फाको ठहर छ।