कञ्चनपुरको बेदकोट नगरपालिका– ८ गैलनदीमा सम्पन्न भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक बेदकोट नगरपालिका– ८ गैलनदी बैजनाथ माविमा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको हो।
प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका हुन् । राष्ट्रिय ब्लिट्ज बुद्धिचालमा आशिष फुयाँल विजयी भएका छन् भने क्षितिज भण्डारी दोस्राे र प्रकाशचन्द्र नेपाल तृतीय भएका छन् । दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिपमा नवीन तन्डुकार विजयी भएका हुन् भने सुरत दाहाल दोस्राे र क्षितिज भण्डारी तृतीय भएका छन् । तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा क्षितिज भण्डारी विजयी हुँदा रुपेश जैसवालले दोस्राे र दीर्घराज जोशीले तृतीय स्थान हासिल गरेका छन् ।
तीनवटा छुट्टाछुट्टै प्रतियोगितामा क्षितिज भण्डारी, आशिष फुयाँल र नवीन तन्डुकार विजयी भएका हुन् । पदकधारी खेलाडीलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मानित गरिएको छ । वेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना यस क्षेत्रकै गौरवको विषय भएकाले बुद्धिचाल खेल स्थापित भएको बताए । साथै युवाहरूलाई खेलमा लाग्न प्रतियोगिताले उत्साह थपेको बताए ।
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका संयोजक नारायणप्रसाद गमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए। नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्टस् एकेमेडीको आयोजना तथा बेदकोट नगरपालिका– ८ को सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिता कात्तिक २ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।