इंग्लिस प्रिमियर लिग २०२४/०२५ सिजनमा लिभरपुल सानदार सुरुवात गरेको छ । शनिबार भएको लिगको दोस्रो खेल लिभरपुलले इपस्विच टाउनलाई २–० ले हरायो । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको इपस्विचले हारबाट शीर्ष डिभिजन सुरु गरेको छ । उसले २२ वर्षपछि प्रिमियर लिगमा कमब्याक गरेको हो । लिभरपुललाई जित दिलाउन डियागो जोटा र मोहम्मद सलाहले गोल गरे । यो जितसँगै नवनियुक्त प्रशिक्षक अर्न स्लोटले सुखद सुरुवात गरेका छन् । योर्गन क्लोपले टिम छाडेपछि स्लोटले नयाँ जिम्मेवारी पाएका हुन् ।
इपस्विच टाउनको पोर्टम्यान रोड रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । घरेलु टोलीले लिभरपुललाई मध्यान्तरसम्म रोक्न सफल भयो । तर, ३० हजार समर्थकमाझ पोर्चुगिज स्टार जोटाले ६०औँ मिनेटमा अग्रता दिलाए । उनले इजिप्ट स्टार सलाहको पासलाई सदुपयोग गरेका हुन् । पाँच मिनेटपछि नै सलाहले टोलीको अग्रता दोब्बर बनाए । योसँगै सलाहले प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् । उनी प्रिमियर लिगको पहिलो खेलमा लगातार नौ गोल गर्ने पहिलो खेलाडी बने । बाँकी समयमा गोल हुन सकेन र लिभरपुल सहज जित निकाल्न सफल भयो । जितपछि लिभरपुलले पहिलो खेलमै तीन अंक जोडेको छ । यस सिजनमा पनि लिभरपुल उपाधि जित्ने योजनासहित प्रतियोगिता खेल्दै छ । उसले आर्सनल र म्यानचेस्टर सिटीसँग यसपटक पनि त्रिकोणात्मक भिडन्त गर्ने अनुमान गरिएको छ ।
जिर्कजीको डेब्यु गोल
जोसुआ जिर्कजीको प्रिमियर लिगको डेब्यु खेलमै म्यानचेस्टर युनाइटेडका लागि डेब्यु गोल गरेका छन् । ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो खेलमा युनाइटेडले फुलहमलाई १–० ले हरायो । युनाइटेडलाई सुखद जित दिलाउने क्रममा जिर्कजीले नै निर्णायक गोल गरेका हुन् । नेदरल्यान्ड्सका २३ वर्षीय स्ट्राइकर यसै सिजन युनाइटेड भित्रिएका थिए । युनाइटेडअघि उनले बुन्डेसलिगा क्लब बायर्न म्युनिख र इटालियन सिरी ए क्लब बोलोग्नाका लागि खेलेका छन् । जिर्कजीले खेलको ८७औँ मिनेटमा गोल गरेका थिए । यसअघि कप्तान ब्रुनो फर्नान्डेज बारम्बार गोलनजिक पुगेर चुकेका थिए । त्यसपछि प्रशिक्षक एरिक टेन हाकले जिर्कजीलाई ६१औँ मिनेटमा मैदान छिराएका थिए । जुन निर्णयलाई न्याय दिलाउँदै उनले महत्वपूर्ण तीन अंक दिलाउन सफल भएका हुन् ।