साफ यू–२० फुटबल : घरमै उपाधि जित्ने नेपालको लक्ष्य

 संवाददाता    २०८१, २ भाद्र आईतवार १०:४३     53 जनाले पढ़िसके



Spread the love

नेपालको युवा टिमले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने यू–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य बनाएको छ । प्रतियोगिताको छैटौँ संस्करण आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुँदै छ । नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा यसपटक टोली अनुभवी रहेको बताउँदै उपाधि जित्ने दाबी गर्छन् । ‘करिब दुई महिनाको तयारी राम्रो भएको छ । हाम्रो लक्ष्य च्याम्पियन हुने हो,’ नेपालको यू–१८ टिमबाट खेलिसकेका मिडफिल्डर कुशलले भने, ‘गत वर्ष टिमको तालमेल राम्रो थिएन । यसपटक टिम अनुभवी पनि छ । यू–१७ टिमबाट लगातार खेल्दै आएको छौँ । जुनसुकै अवस्थामा पनि दबाब नियन्त्रणमा राख्न सक्छौँ ।’

प्रतियोगिता पाँचपटक भइसकेको छ । नेपालले पहिलो दुई उपाधि जितेको थियो । पहिलो संस्करण यू–१९, दोस्रो यू–१८ हुँदै अहिले प्रतियोगिता यू–२० आधारमा आयोजना भएको छ । नेपालले सुरुका दुई उपाधि उचाल्दा त्यसपछिका तीनै उपाधि भारतले जितेको हो ।

प्रशिक्षक श्रेष्ठ ४५ दिनको अभ्यास राम्रो भएको र प्रतियोगिता एन्फा कम्प्लेक्समै हुँदा फाइदा पुग्ने बताउँछन् । ‘प्रतियोगिताका लागि हामीले एन्फा कम्प्लेक्समा ४५ दिनको अभ्यास गरेका छौँ । प्रतियोगिता नै यहीँ हुँदा हामीलाई धेरै फाइदा हुनेछ,’ श्रेष्ठले भने, ‘खेलाडी पनि यही मैदानमा अभ्यस्त भएका छन् । हामी उपाधि फर्काउन खेल्नेछौंँ ।’

प्रतियोगितामा साफबाट पाकिस्तानबाहेक घरेलु टोली नेपाल, साबिक विजेता भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानको सहभागिता रहेको छ । नेपालको समूहमा श्रीलंका र बंगलादेश छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगितामा सहभागी ६ देशकै प्रशिक्षकले उपाधि जित्ने योजना सुनाएका छन् ।

कुशलको कप्तानीमा अनुभवी नेपाली टिम
नेपाली टिमको कप्तानी मिडफिल्डर कुशल देउवाले गर्नेछन् । यो टिममा यू–१७ र यू–१८ उमेर समूहबाट खेलिसकेका एक दर्जनभन्दा बढी खेलाडी छन् । समीर तामाङले भने राष्ट्रिय टिमबाटै डेब्यु गरिसकेका छन् । त्यसैले पनि टोली निकै सन्तुलित देखिन्छ । ‘गत वर्ष खेलेका अधिकांश खेलाडी अहिले पनि टोलीमा छन् । नयाँ खेलाडी पनि राम्रा छन् ।

अधिकांशले सहिद स्मारक ए डिभिजन लिग र एनएसएल खेलेकाले पनि टिम बलियो देखिन्छ,’ प्रशिक्षक श्रेष्ठ भन्छन् । टोलीमा रहेका गोलकिपर जियारथ शेख, रक्षकहरू आश्विन घोरासैनी, सीमान्त थापा, निन्साङ लिम्बू, मिडफिल्डरमा कप्तान कुशलसँगै लक्षु थापा तथा स्ट्राइकर नीराजन धामी, रोहन खड्गी, समीर तामाङ र अविनाश स्याङ्ताङले यसअघि नै नेपालको उमेरसमूहबाट खेलिसकेका छन् ।

सहभागी ६ टोलीकै प्रशिक्षकको उपाधि जित्ने दाबी

घरेलु मैदानमा उपाधि जित्छौँ : उर्जन श्रेष्ठ, प्रशिक्षक, नेपाल
हामीले एन्फा कम्प्लेक्समै ४५ दिन अभ्यास गर्न पायौँ । त्यसैले तयारी राम्रो भएको छ । दशरथ रंगशालामा खेल नहुँदा हामीलाई झनै फाइदा भयो । घाँसे मैदानमा अभ्यास नहुँदा हामीलाई गाह्रो हुन सक्थ्यो । गत वर्ष खेलेका ११ खेलाडी अहिले पनि टोलीमा छन् । नयाँ खेलाडी पनि राम्रा छन् । अधिकांशले सहिद स्मारक ए डिभिजन लिग र एनएसएल खेलेका छन् । खेलाडीको क्षमताअनुसार रणनीति बनाउनेछौँ । सकेसम्म हामी पेनाल्टीमा नजाँदै खेल जित्न खेल्छौँ । हाम्रा लागि घरेलु दर्शक १२औँ खेलाडी हुन् । उहाँअरू आउने र टिमलाई हौसला बढाउनेमा विश्वस्त छौँ । घरमै उपाधि जित्न खेल्छौँ ।