म्यानचेस्टर युनाइटेड र फुलह्यामको खेलसँगै शुक्रबारदेखि युरोपकै चर्चित इंग्लिस प्रिमियर लिग (इपिएल) सुरु भएको छ । सहभागी २० क्लबबाटै छानिएर च्याम्पियन बन्नेछ । इपिएलको रोमाञ्चक नै उपाधिदेखि रेलिगेसन दौड हो । अझ अप्रत्याशित नतिजाले यसमा सनसनी मच्चाउने गर्छ । साबिक विजेता म्यानचेस्टर सिटीले उपाधि रक्षा गर्ने अभियानमा अग्रसरता देखाएको छ ।
आर्सनल, चेल्सी, लिभरपुल, टोटनह्याम तथा म्यानचेस्टर युनाइटेडले शीर्ष चारको दाबी गर्नेछन् । खेलाडी किनबेच सिजनमा अघिल्लोपटकका शीर्ष १० भित्रका क्लबहरूले त्यति धेरै लगानी गरेका छैनन् । यही परिपे्रक्ष्यमा मध्यम क्लबहरूले खेलाडी भित्र्याउन राम्रो रकम खर्चेका छन् । लगभग एक वर्षसम्म चल्ने इपिएलको नयाँ सिजनका पाँच रोचक पक्ष यस्ता छन् :
आर्सनलको प्रदर्शन कस्तो होला ?
पछिल्लो दुई सिजनमा आर्सनलले इपिएलमा उत्कृष्ट प्रदर्शन गर्यो । लिगको निर्णायक मोडमा आर्सनल चुक्दा म्यानचेस्टर सिटीले नपत्याउँदो पाराले अन्तिम खेलमा उपाधि उचाल्यो । गत सिजनमा एकनासको प्रदर्शन गरेको आर्सनल अप्रिलमा आफ्नै घरेलु मैदानमा एस्टोन भिल्लासँग अप्रत्याशित रूपमा पराजित भयो । यही नतिजाले आर्सनलको दुई दशकपछि उपाधि जित्ने सपना अधुरो भयो । धेरैका लगभग एउटै प्रश्न छन् । अब आर्सनलले नयाँ सिजनमा कस्तो प्रदर्शन गर्नेछ ? उत्तरमा लन्डन क्लबले कम्तीमा गत सिजनमा जस्तै म्यानचेस्टर सिटीलाई चुनौती दिनेछ । आर्सनलले अहिले मिडफिल्डमा थप मिहिनेत गरेको छ । मिडफिल्ड साँच्चिकै बलियो हुँदा आर्सनलले सिटीको दबदबा तोड्ने सम्भावना छ । यद्यपि, सिटी आर्सनल मात्र नभएर अन्य प्रतिस्पर्धीलाई पाखा लगाउने योजनामा छ ।
युनाइटेडको शीर्ष चारको लक्ष्य
नेदरल्यान्ड्सका एरिक टेन हाङले धेरै पछि म्यानचेस्टर युनाइटेडलाई एफए कप दिलाए । यही उपाधिका कारण उनको प्रशिक्षक पद रक्षा भयो । एफए कपको प्रदर्शनबाट हौसिएको युनाइटेडका समर्थकले कम्तीमा यसपटक इपिएल उपाधि चुमेको हेर्न चाहेका छन् । युनाइेटडले इपिएलको उपाधि नउचालेको एक दशकभन्दा बढी भइसकेको छ । युनाइटेडले अन्तिमपटक एलेक्स फर्गुसनको कार्यकालमा ट्रफी जितेको थियो । उनी युनाइटेडबाट बाहिरिएको वर्षौँ भइसक्यो । टेन हाङले महँगो रकममा लेनी योरो र जोसाउन जिकलाई भित्र्याएका छन् । बायर्न म्युनिखबाट डे लिगट तथा नाउसैर माजारोको आगमनले युनाइटेड गत सिजनमा भन्दा बलियो देखिएको छ । गत सिजनमा युनाइटेड आठौँ स्थानमा रह्यो । यसपटक महँगा खेलाडीका साथमा युनाइटेडले कम्तीमा शीर्ष चारको लक्ष्य राखेको छ ।
सशक्तका साथ आउँदै चेल्सी
चेल्सीको स्टामफोर्ड ब्रिजभित्र वातावरण सानदार छ । नहोस् पनि किन ? नयाँ सिजनका लागि चेल्सीले खेलाडी अनुबन्ध गरेको छ । ती खेलाडीले चेल्सीको भाग्य परिवर्तन गर्न सक्छन् । उल्भ्सका पेड्रो नेटोलाई ल्याउन चेल्सीले धेरै पसिना बगायो । अक्सर चेल्सीले सिजनको अगाडि विशेष योजना बनाएको हुन्छ । सम्भवतः यसपालि पनि चेल्सीले यस्तै गर्नेछ । चेल्सीमा यति खेलाडी छन् कि कसलाई पहिलो लिस्टमा राख्ने भन्ने प्रश्न छ । आठ गोलरक्षकसहित ४२ अनुभवी खेलाडी स्टामफोर्ड ब्रिजमा छन् । रोमेओ लाभिआ, नोनी माडुके तथा लेभी कोल्विलजस्ता खेलाडीको साथ रहेको चेल्सीको चाहना पनि उपाधि र च्याम्पियन्स लिगमा छनोट हुनु हो ।
खेलाडी भित्र्याउन वेस्टह्याम अगाडि
वेस्टह्यामलाई फरक क्लबका रूपमा पाइनेछ । नपत्याउने पाराले वेस्टह्यामले एक सय ३० मिलियन पाउन्ड खर्च गरेर खेलाडी भित्र्याउन सकेको छ । यतिका धेरै लगानी गरेको वेस्टह्यामले पक्कै उपाधिमाथि दाबी गर्नेछ । उल्भ्स, रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक जुलेन जोपेटेगुईलाई म्यानेजरका रूपमा वेस्टह्यामले अनुबन्ध गर्दा सनसनी मच्चियो ।
गत सिजनमा वेस्टह्याम नवौँ स्थानमा थियो । लिड्स युनाइटेड र बोरुसिया डर्टमन्डका खेलाडी आउँदा वेस्टह्याम थप बलियो देखिएको छ । गत सिजनमा आरोन वान विसाका, जिएन क्लेयर तथा म्याक्स क्लिम्यानबाट त्यही प्रदर्शन दोहोर्याउने सम्भावना छ । यस्तो हुँदा वेस्टह्यामले शीर्ष चारभित्रको दाबी सहजै पूरा गर्न सक्छ ।
तीन क्लब शीर्ष डिभिजनमा
सन् १९९७/९८ पछि इपिएलमा तीन क्लबले माथिल्लो डिभिजन खेल्न अवसर पाए । पूर्वविजेता लेस्टर सिटी, इस्विच तथा साउथह्याम्टन बढुवा भएका क्लब हुन् । प्रिमियर लिगका पुराना क्लबहरूले रेलिगेसन जोन रक्षा गर्ने दाबी गरेका छन् । एक दशकअघिको विजेता लेस्टरले मध्यम लगानी गरेको छ । साउथह्याम्टनले एडम आर्मस्ट्रङलाई फर्काएको छ । ‘बी’ डिभिजनबाट बढुवा भए पनि यी क्लबहरूले अप्रत्याशित नतिजा निकाल्न सक्छन् । उनीहरूको मुख्य लक्ष्य नै शीर्ष तथा मध्यम क्लबलाई हराउनु नै हुनेछ ।