विदेशी खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणमा पुगेको छ । हिलाम्मे दशरथ रंगशालामा मंगलबार नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई २–१ ले स्तब्ध पार्दै पारो समूह चरणमा छनोट भएको हो । गत संस्करणमा मच्छिन्द्र फुटबल क्लबले पारोलाई रंगशालामै हराएको थियो । यसपटक भुटानी क्लबले बाजी मार्दै अर्को चरणमा पुग्यो । पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले समान एक गोल गरेका थिए । घरेलु टोलीका लागि लाकेन लिम्बूको अग्रतामा गोल गरे ।
भिजेको मैदानमा खेल प्रभावित
एएफसी च्यालेन्ज कपको प्लेअफ खेल्न आएको पारोका कप्तान केसुक होन्डाले रंगशालाको मैदानको अवस्थाबारे प्रश्न उठाएका थिए । उनले यस किसिमको मैदानमा कहिले नखेलेको जनाएका थिए । होन्डा मात्र नभएर दुवै टोलीका प्रशिक्षकले पनि मैदानको गुणस्तरीयमाथि प्रश्न उठाएका थिए । पारो र चर्च ब्वाइजबीच खेलअगाडि भारी वर्षा भएको थियो । पहिलो हाफमा वर्षाले भिजेको मैदानमा दुवै पक्षका खेलाडी बलका लागि संघर्षरत देखिन्थे र खेलाडीहरू शतप्रतिशत दिन सकिरहेका थिएनन् ।
वर्षाले हिलाम्मे रंगशालामा घरेलु टोलीका खेलाडीले केही पकड बनाएका थिए । तर, पारोका खेलाडीहरू भने बल खोस्न र नियन्त्रणमा लिन संघर्षमा देखिए । हिलाम्मे मैदानमा पारो र चर्च ब्वाइजका खेलाडी अन्तिमसम्म संघर्षमै देखिए । यद्यपि, पहिलो हाफको तुलनामा दोस्रो हाफ केही सहज बनेको थियो । मध्यान्तर अघि नै वर्षा रोकिएको थियो ।
दुई मिनेट पनि टिकेन अग्रता
ओसिलो तथा भिजेको मैदानमा खेल नियन्त्रणमा राख्न हम्मेहम्मे परेको चर्च ब्वाइजले खेलको ३९औँ मिनेटमा स्टार खेलाडीले भरिएको पारो एफसीविरुद्ध १–० को अग्रता लियो । चर्च ब्वाइजलाई लाकेनले क्लोज रेन्जबाट गोल गरेका हुन् । एक गोलका अग्रता लिएको चर्च ब्वाइज केही डिफेन्ससिभ देखियो । पारोका खेलाडी सम्हालिँदै बराबरी गोल फर्काउने तत्कालै अग्रसर भए । संगठित रूपमा अगाडि बढेको पारो एफसीले दुई मिनेटको अन्तरमै बराबरी गोल फर्काउन सफल भयो । चर्च ब्वाइजको कमजोर डिफेन्सको फाइदामा पारो एफसीले १–१ को बराबरी गर्यो ।
चर्च ब्वाइजका दीप कार्कीले क्लियर गर्न नसकेको बलमै वाङचुकले बराबरी गोल गरेका हुन् । मध्यान्तरपछि मैदान हल्का सुकेपछि दुवै पक्षका खेलाडीलाई प्रतिस्पर्धा गर्न सहज भयो । जापानी र अफ्रिकी खेलाडीको बाहुल्य रहेको पारो एफसी ले चर्च ब्वाइजमाथि दबाब राखेको थियो । खेलको ६७औँ मिनेटमा पारो एफसीले चर्च ब्वाइजविरुद्ध २–१ को अग्रता लियो । ओकोपोले डी बक्सभित्र सहजै अग्रता गोल गरे ।
हिलाम्मे मैदानमा खेल्न अभ्यस्त नभए पनि पारो एफसीका विलियम खेलको १०औँ मिनेटमा सशक्त प्रहार गरेका थिए । उनको प्रहार बारमा लागेको थियो । त्यसलगत्तै चर्च ब्वाइजका एरिक विष्टले काउन्टर एट्याकमा गोल प्रयास गरेका थिए । खेलको ३०औँ मिनेटमा पारो एफसीका कप्तान होन्डाको प्रहार दोस्रो बारमा लागेको थियो । ५६औं मिनेटमा चर्च ब्वाइजका सनिश श्रेष्ठको प्रहारलाई विपक्षी गोलरक्षक क्युपिकले बचाए ।
पारोले पायो एक लाख डलर
चर्च ब्वाइजलाई हराएर समूह चरण स्थान पक्का गरेको पारो एफसीले एक लाख अमेरिकन डलर पाएको छ । एसियाली फुटबल महसंघ (एएफसी)को तेस्रो श्रेणीको क्लब स्तरीय फुटबल प्रतियोगिता एएफसी च्यालेन्ज लिग २०२४–२५ को प्रारम्भिक चरण पार गर्ने टोलीको तयारीका लागि एक लाख डलर दिने जनाएको छ । पश्चिम क्षेत्रको समूह चरणमा पारो एफसी पुगेको छ ।
एएफसीले समूह चरणमा खेल्ने २० टोलीलाई जनही एक लाख डलर दिने घोषणा गरिसकेको छ । समूह चरणमा एक जितमा २० हजार डलर पुरस्कार रहेको छ । समूह चरणमा एक समूहको खेल एकै स्थानमा हुनेछ । त्यसपछि क्वार्टरफाइनल पुग्ने आठ टोलीले थप ८० हजार डलर र सेमिफाइनल पुगे थप एक लाख २० हजार डलर रकम प्राप्त गर्नेछन् । लिगको विजेताले १० लाख डलर र उपविजेताले पाँच लाख डलर पुरस्कार पाउनेछन् ।
च्यालेन्ज लिगको समूह चरणमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । १८ टोलीले खेल्ने पक्का हुँदा दुई टोली प्रारम्भिक छनोटबाट छनोट हुनेछन् । एएफसीले २० टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । एएफसीले पाँच समूहमा टोलीलाई विभाजित गरेको छ । प्रत्येक समूहमा चार टोली रहने एएफसीले जनाएको छ । पश्चिम क्षेत्रका तीन समूह र पूर्व क्षेत्रका दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।
हामीले प्राप्त अवसर गुमायौँ : बालगोपाल महर्जन प्रशिक्षक, चर्च ब्वाइज
हाम्रो लक्ष्य अर्को चरणमा छनोट हुने थियो । दुवै टोलीले मैदानको यस्तो अवस्थासमेत उत्कृष्ट प्रदर्शन गरेका छन् । हामीले प्राप्त अवसर सदुपयोग गर्न सकेनौँ । पारोविरुद्ध अन्तिममा दबाब राखी अवसर निकाल्यो । तर, राम्रो फिनिसिङ भएन । हाम्रोभन्दा विपक्षीका विदेशी खेलाडी राम्रो भए । आजको खेलबाट प्रस्ट छ । नेपालमा फुटबलमा एउटा मात्रै अन्तर्राष्ट्रियस्तरको रंगशाला छ । लगातार ३० वर्षदेखि यहाँ नै खेल भइरहेको छ । अब यसको विकल्प खोज्नुपर्ने भइसकेको छ । वैकल्पिक रंगशाला नहुँदा यस्तो हिलाम्मे मैदानमा खेल्नुपरेको हो । दर्शकसमक्ष हामीले नराम्रो खेलेको भनी म्यासेज गयो । पोरोका होन्डा राम्रो खेलाडी हो । भुटानको टिम राम्रो छ ।
हिलाम्मे मैदानमा खेल्न कठिन भयो : केसुक होन्डा कप्तान, एफसी पारो
दशरथ रंगशालाको हिलाम्मे मैदानमा खेल्न निकै कठिन भएको थियो । तर, हामीले मिहिनेत गरी जित्यौँ । जितका लागि हामीले अन्तिम समयसम्म निहिनेत गरेका थियौँ । भुटानको क्लबसँग आबद्ध भएको थोरै समय भए पनि प्ले अफ पार गरौँ । पहिलोपटक नेपालको टोलीविरुद्ध खेल्न अवसर पाएँ । क्लबले एक जिम्मेवारी दिएको थियो । म आफू नै कप्तानीको जिम्मेवारी पाउँदा अच्चम्ममा परेको थिएँ । कप्तानीका रूपमा क्लबलाई अर्को चरणमा पुर्याउन सक्दा खुसी लागेको छ ।