ट्वान्टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

 #नेपाली क्रीकेट     ३० जेष्ठ २०८१, बुधबार ०६:५५     27 जनाले पढ़िसके



Spread the love

फ्लोरिडा —वर्षाका कारण नेपाल र श्रीलंकाबीच ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गतको खेल रद्द भएको छ । मंगलबार बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द हुन पुगेको हो ।

निर्धारित समयअनुसार साँझको ७.३० बजे खेल सुरु हुने तालिका रहेको थियो । तर बिहानदेखि परेको वर्षा नरोकिएपछि साँझ ८.३० बजे खेल रद्द भएको आधिकारिक घोषणा गरिएको थियो । त्यसपछि नेपाली राष्ट्रिय टोलीले ठूलो संख्यामा उपस्थित दर्शकलाई मैदानको चारैतिर पुगेर अभिवादन गरेका थिए ।

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । आज अंक बाँडेसंगै श्रीलंका समूह चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमश: दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो।

नेपाली टोली बुधबार वेस्ट इन्डिज जाने छ । नेपालले क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।