‘सी’ डिभिजन लिग : बागमतीकाे विजयी शुरूआत

 सि डिभिजन लिग     २३ चैत्र २०८०, शुक्रबार २०:१९     58 जनाले पढ़िसके



Spread the love

काठमाडौँ। बागमती युवा क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा विजयी शुरूआत गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा शुक्रबार सम्पन्न पहिलो खेलमा बागमतीले सानेपा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

बागमतीको जितमा बिमल घिसिङ र सृजनराज गौतमले १/१ गोल गरे। बागमतीले एक गोल भने उपहार पाएको थियो।

सानेपाका पेम्बा लामाले एक मात्रै गोल गरे। खेलको ३१औँ मिनेटमै बागमतीले बिमलको गोलमार्फत अग्रता लिएको थियो। ६०औँ मिनेटमा सृजनले बागमतीको अग्रता दोब्बर बनाए।

७६औँ मिनेटमा सानेपा पेम्बाको गोलमार्फत खेलमा फर्कियो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

८५औँ मिनेटमा बागमतीले उपहार गोल पायो। बागमतीको साइडबाट आएको लामो पासलाई जोगाउनेक्रममा सानेपा अमिर केसीले आफ्नै पोस्टमा गोल गर्न पुगे।

जितसँगै बागमतीले ३ अंक जोडेको छ। शनिबार दुई खेल हुँदैछन्।

पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सामाजिक युवा क्लबसँग खेल्ने छ। यो खेल दिउँसो १ बजे हुने छ।  ४:१५ बजे हुने दोस्रो खेलमा भने मनोहरा युनाइटेडले स्पोर्ट्स सेन्टर क्लबसँग खेल्ने छ।