आर्मीलाई स्तब्ध पार्दै पुलिसले जित्यो पिएमकपको उपाधि

 नेपाल प्रहरी     २०८०, २० माघ शनिबार २१:२२     100 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो।

उपाधि जितेको पुलिसले रु १० लाख प्राप्त गर्‍यो भने उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्‍यो।

आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो।

पुलिसका लागि शंकर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए। यस्तै आरिफ शेखले २७, अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एक/एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो।

उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए। यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन/तीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक/एक विकेट लिए।