नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने

 नेपाल सुपर लिग     १४ पुष २०८०, शनिबार १०:३३     37 जनाले पढ़िसके



Spread the love

नेपाल सुपर लिग (एनएसएल) ले आज नयाँ च्याम्पियन पाउँदैछ । त्यसका लागि साविक विजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्नैदछन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो ।

पहिलो संस्करण फाइनल पुगेपनि पराजित भएको धनगढी एफसी लगातार दोस्रोपटक फाइनल खेल्दैछ र उसलाई फाइनलको अनुभव थाहा छ । ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो र उसका लागि यो नयाँ अनुभव हुनेछ ।

यसपटक रमाइलो संयोग के रह्यो भने धनगढी र ललितपुर दुवैले एउटै टिम पोखरा थण्डर्सलाई हराएर फाइनल पुगेका हुन् । फ्रेन्चाइज लिगहरुमा लिग चरणको खेलपछि प्लेअफका खेलहरु हुने भएकोले शीर्ष दुईमा रहने टिमले फाइदा पाउँछन् ।

लिगमा पोखरा शीर्ष स्थानमा थियो भने धनगढी दोस्रो तथा ललितपुर चौथोमा थियो । पहिलो क्वालिफायर पोखरा र धनगढीबीच भयो । धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुग्यो । त्यसपछि ललितपुरले एलिमिनेटरमा काठमाडौंलाई पराजित गर्‍यो । तर, ललितपुरले फेरि अर्को खेल खेल्नुपर्‍यो । त्यो खेल पोखरासँग थियो । पोखरालाई २-१ ले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढीसँग उपाधि भेट पक्का गरेको हो ।

पहिलो संस्करणमा फाइनल पुगेर पराजित भएको धनगढी यसपटक त्यो गल्ती दोहोर्‍याउने पक्षमा छैन । त्यसैका उनका मुख्य प्रशिक्षक युगल किशोर राईले बारम्बार भन्दै आएका छन् यसपटक च्याम्पियन नै बन्ने हो ।

‘हामी पुरानो गल्ती दोहोर्‍याउन चाहँदैनौँ । फाइनलमा जसले इन्डिभिडुअल र टिम क्यारेक्टर देखाउँछ त्यो म्याटर गर्छ,’ शुक्रबार भएको फाइनल अघिको प्रि म्याचमा राईले भने ।

उता ललितपुरमा कप्तान अनन्त तामाङसहित राष्ट्रिय टिमकै चार खेलाडी छन् । दिनेश हेन्जन, सेसेहाङ आङदम्बे र सनिश श्रेष्ठ राष्ट्रिय टिमका खेलाडी हुन् । यस्तै गोलकिपरमा फ्रान्सका जेफ्री बाल्टुस तथा फरवार्डमा फ्रान्सकै पापा इबकोउ केबे र नाइजेरियाका इमोह इजेकेल छन् । घरेलु फुटबलमा अनुभवी नाइजेरियाका डिफेण्डर ओमाला करिमब पनि ललितपुरमा छन् ।

यस बाहेक डिफेण्डर सन्जित राईले राम्रो प्रदर्शन गरिरहेका छन् । तर क्वालिफायर टु मा पोखराविरुद्ध रातो कार्ड पाएका भारतीय खेलाडी निखिल कदम ललितपुरको टिममा हुने छैनन् । यस्तै विवेक पौडेल र रोशन पहारी जस्ता खेलाडी चोटका कारण नखेल्न सक्छन् ।

त्यसैले फाइनलमा ललितपुरले केही खेलाडीलाई गुमाउने प्रशिक्षक इयान आन्द्रे गिलानले पनि स्वीकार गरेका छन् ।

उनले फाइनल यात्रालाई रोलर कोस्टर जर्नी मानेका छन् र फाइनल कठिन हुने बताए । ‘फाइनल कठिन हुनेछ । किनकि यो प्रतियोगिताको क्लाइमेक्स हो,’ गिलानले प्रि म्याचमा भने । उनले फाइनलमा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए ।