पोखरालाई पराजित गर्दै धनगढी एनएसएलको फाइनलमा

 नेपाल सुपर लिग     १० पुष २०८०, मंगलवार ०८:२४     29 जनाले पढ़िसके



Spread the love

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फूटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमवार भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । ९० मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप १–१ गोल गर्दै बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

यसअघि खेलको पाँचौँ मिनेटमा पोखराले पहिलो गोल गर्दै अग्रता लिएको थियो । उक्त गोल आयुष घलानले गरेका थिए । त्यस्तै खेलको ५४औँ मिनेटमा धनगढीका लागि कप्तान देवेन्द्र तामाङले गोल गरे । यस्तै अतिरिक्त समयमा पोखराका लागि स्टेफन कोजो एनोरले तथा धनगढीका लागि अहमद हिजाजीले गोल गरेका थिए ।

आज काठमाडौं  र ललितपुरबीच खेल हुनेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे शुरू हुनेछ ।