अस्ट्रेलियालाई ४-१ ले पराजित गर्दै भारतले जित्यो सिरिज

 खेलकुद     १८ मंसिर २०८०, सोमबार ०७:२९     46 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो ।

सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले भने पहिलो, दोस्रो र चौथो खेल जित्दै सिरिज जितेको थियो ।

अन्तिम खेलमा आइतबार भारतले दिएको १६१ रनको मध्यम लक्ष्य पूरा गर्न अस्ट्रेलिया चुकेको हो ।

अन्तिम ओभरमा अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले दुई बल डट खेले । अर्शदीप सिंहको तेस्रो बलमा उनी श्रेयस अय्यरबाट क्याच भए । उनले १५ बलमा २२ रन जोडेका थिए।

कप्तान वेड आउट भएपछि अन्तिम तीन बलमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया आठ विकेटको क्षतिमा १५४ रनमा समेटियो । अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन ।

अस्ट्रेलियाको इनिङ धराप पार्न बलिङमा भारतका मुकेश कुमारले ३, अर्शदीप सिंह र रवी विश्नोइले २–२ विकेट लिए ।

टस जितेको अस्ट्रेलियाले फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । भारतका लागि श्रेयष अय्रले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।