लयमा फर्किंदै अष्ट्रेलिया, बंगलादेश ८ विकेटले पराजित

 संवाददाता    २५ कार्तिक २०८०, शनिबार २१:०४     44 जनाले पढ़िसके



Spread the love

अष्ट्रेलियाले विश्वकप अन्तर्गत आज भएको खेलमा मिचेल मार्सको अविजित १७७ रनको मद्दतमा वंगलादेशलाई ८ विकेटले हराएको छ ।

भारतको पुनेमा बंगलादेशले दिएको ३०६ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

अष्ट्रेलियाले १२ रनमै पहिलो विकेटको रुपमा  ट्राभिस हेडलाई १० रनमा आउटमा व्यक्तिगत १० रनमा गुमाएको थियो । तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले उत्कृष्ट पारी खेले ।

उनले दोस्रो विकेटका लागि डेभिड वार्नरसँग १२० रनको साझेदारी गरे । वार्नर ५३ रनमा आउट भए । त्यसपछि मार्स र स्टिभ स्मिथले तेस्रो विकेटका लागि अविजित १७५ रनको साझेदारी गरे ।

१७७ मार्सको एकदिवसीय क्रिकेटकै सबभन्दा ठूलो व्यक्तिगत रन हो भने फर्स्ट डाउनमा पहिलो शतक । १३६ बलको सामना गरेका मार्सले १७ चौका र ९ छक्का हानेका थिए ।

अष्ट्रेलियाले पछिल्लो चार वर्षमा जम्मा एक पटक ३०० भन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । तर बदलिएको ब्याटिङ लाइनअपमा स्मिथले अविजित ६३ रन बनाए, अनि १७५ रनको साझेदारी गर्दै विश्वकपमा टिमलाई लगातार सातौं जित दिलाए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले तौहद हृदयको ७४ रनको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन बनाएको थियो । बंगलादेशका ६ ब्याट्सम्यानले २० रन कटाएका थिए, तर ४५ को स्कोर पार गर्न सकेनन् ।

एडम जाम्पाले मिडल ओभरमा उत्कृष्ट बलिङ गर्दै विश्वकपमा आफ्नो विकेट संख्या २२ पुर्याए । यो विश्वकपकै इतिहासमा कुनै पनि स्पिनरको दोस्रो सर्वाधिक विकेट हो । मार्नस लाबुसनले दुई शानदार रनआउट गर्दै टिममा आफ्नो उपस्थिति बलियो रहेको सावित गरे ।

लिग चरणको आफ्नो अन्तिम खेलमा जितसँगै अष्ट्रेलियाको १४ अंक भएको छ । तर रन रेटका आधारमा समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमै रह्यो । भारत १६ अंकका साथ शीर्ष स्थानमा छ र उसले एक खेल खेल्न बाँकी नै छ ।

हारका बाबजुद बंगलादेशलाई सान्त्वना के छ भने शीर्ष ८ मा रहेर २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने सम्भावना बलियो छ ।