आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा मलेसियालाई सजिलै हराउँदै घरेलु टोली नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार दिउँसो सकिएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत निकाल्दै समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको १६६ रनको मध्यम लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जीतमा कुशल मल्लले अर्धशतीय पारी खेलेका थिए । मल्लले २५ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् । उनी ३४ बलमा ६५ रन बनाएर आउट भए ।
नेपालले ५.२ ओभरमा ५२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।
नेपालका कुशल भुर्तेल २५ बलमा ४३ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकेका थिए ।
अर्का ओपनर आशिफ शेखले २३ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल भने २ रनमै आउट भएका थिए ।
यसपछि आएका सन्दीप जोराले अविजित १८ तथा विवेक यादवले २ रन जोडेपछि नेपालले लक्ष्य भेट्टयो । मलेसियाका मुहम्मद अमिरले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो ।
मलेसियाका लागि शैयद अजिजले ४९ बलमा ६८ रन बनाए । खतरनाक देखिँदै ६८ रन बनाएका अजिजको विकेट गुल्सन झाले लिए ।
जुवैदी जुल्फिकीले २४ रन बनाए ।
नेपालका लागि अविनाश बोहोराले ४, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए ।
सन्दीपले वीरनदीप सिंहलाई ४ रनमा एलबीडब्लू धरापमा पारेका थिए ।
नेपालको जीतसँगै समूह ‘ए’मा रहेको ओमान पनि एक खेलअघि नै सेमिफाइनलमा पुगेको । नेपाल र ओमानबीच बिहविार हुने अन्तिम खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
फाइनल पुग्ने एक टोली सन् २०२४ मा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।