महिला टि–ट्वान्टी क्रिकेट : आज नेपाल र मलेसिया भिड्दै

 खेल समाचार     ८ भाद्र २०८०, शुक्रबार १०:०६     46 जनाले पढ़िसके



Spread the love

काठमाडौं – मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा आज नेपाल र घरेलु टोली मलेसिया भिड्दै छन्। मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ। नेपाल सिरिजको दुई खेल अपराजित रहेको छ । दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंक सहित फाइनल नजिक पुगेको छ। मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

बुधबार भएको दोस्रो खेलमा कुवेतला हराएको थियो । यस खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्न चाहन्छ। मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ । यदी नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ।

पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ। नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म ) मा मलेसियामा नै खेल्नेछ।

प्रतियोगितामा एघार टोलीको सहभागीता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।

शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन्। नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ। ३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ। नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ। फोटो : फाइल