फूटबल १८ श्रावण २०८०, बिहीबार १९:०६ 90 जनाले पढ़िसके
Spread the love
पर्थ – कोलम्वियालाई पराजित गर्दै पहिलोपल्ट विश्वकप खेलिरहेकोमोरोक्को फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो सहभागितामा नै मोरोक्को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा शीर्षस्थानको कोलम्वियालाई १–० ले पराजित गर्दै तथा अर्काे खेलमा आँफु अनुकुलको नतिजा निस्किएपछि मोरोक्को समूह ‘एच’ को उपविजेता बनेको हो ।
अर्काे खेलमा जर्मनी दक्षिण कोरियासँग १–१ गोलको बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिएको छ । पर्थ रेक्टेङ्गुलर स्टेडियम अष्ट्रेलियामा बिहीबार भएको खेलमा मोरोक्कोको जितमा पहिलो हाफमा एनिसा लहमारीले गरेको गोल नै निर्णायक बन्यो ।
उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्न सफल भएका थिए । घिजलेन चेबाकले पेनाल्टी चुकाएपनि लहमारीले गोल गर्न सफल भइन् । पेनाल्टी बक्समा एरिएसले जेराइडीलाई फउल गररेपछि प्राप्त पेनाल्टीमा घिजलेनको प्रहारलाई कोलम्वियाकी गोलरक्षक क्याटलिना पेरेजले बचाइन् । तर, पूरा नियन्त्रणमा लिन नसकेको बललाई नजिकै रहेका साकिना ओजराओइको प्रहार ब्लक भएपनि पोजिसनमा रहेकी लहमारीले गोल गर्न सफल भइन् ।
त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा मोरोक्कोले जित निकाल्न सफल भयो । समूह चरणमा मोरोक्कोको यो दोस्रो जित हो । यसअघि मोरोक्कोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दा जर्मनीसँग ६–० को फराकिलो हार बेहोरेको थियो ।
यस जितले मोरोक्कोले समूह ‘एच’ मा तीन खेलबाट ६ अंक बटुल्यो । समान ६ अंक नै रहेपनि कोलम्विया गोल अन्तरमा शीर्षस्थानमा रह्यो । जर्मनी तेस्रो तथा दक्षिण कोरिया १ अंक जोडेर पुछारमा रह्यो ।