युथ १६ पुरुष साफको खेल तालिका सार्वजनिक

 फूटबल     ९ श्रावण २०८०, मंगलवार ०७:०९     76 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु-१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बंगलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा हुनेछन् ।