नेपालले श्रीलंकामा एसिया कपको तयारीका लागि अभ्यास खेल खेल्ने

 #नेपाली क्रीकेट     ६ श्रावण २०८०, शनिबार १०:१५     62 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपालले अर्को महिना हुने एसीसी एसिया कपको तयारी श्रीलंकामा गर्ने भएको छ। एसीसी इमर्जिङ टिम्स कप खेल्न श्रीलंका पुगेको नेपाली टोलीले १५ दिन श्रीलंकामै अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै एसिया कपका लागि श्रीलंकामै १५ दिन विशेष प्रशिक्षण सञ्चालन गर्ने जनाएको हो।

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो। गत वैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको थियो। नेपालले श्रीलंकामा चार वटा अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ।

एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा अगष्ट ३० मा खेल्नेछ। यस्तै सेप्टेम्बर ४ मा नेपालले भारतको सामना गर्नेछ।

यो खेल श्रीलंकामा हुनेछ। विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’मा छ। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन्। सुपर फोरमा हरेक टोलीले एकअर्कासँग खेल्नेछन। शीर्ष दुई टोलीले भने फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

श्रीलंकामै भएको एसीसी इमर्जिङ टिम्स कपमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो। समूह ‘बी’मा रहेको नेपाल पाकिस्तानसँग चार र भारतसँग नौ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो। बुधबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो। फोटो : फाइल