अन्तिम समयमा सावित्राको गोलले बंगलादेशसँग नेपालको बराबरी

 फूटबल     २८ असार २०८०, बिहीबार २०:३९     54 जनाले पढ़िसके



Spread the love

फिफा इन्टरनेसनल महिला फुटबल शृंखला २०२३ को पहिलो खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन्।

बंगलादेशको मोहम्मद मोस्तफा कमल स्टेडियममा भएको खेलको अन्तिम समयमा गोल गर्दै नेपालले खेल बराबरीमा टुंग्याएको हो।

खेल ६५औँ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। काउन्टर अट्याकमा सबिना खातुनले दिएको पासमा सबिना साँगेले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्।

बंगलादेशका खेलाडीले नेपाली मिडफिल्डर र डिफेन्डरबीचको तालमेल नमिल्दा पाएको मौका सदुपयोग गर्दै आफ्नो देशलाई अग्रता दिलाएका थिए।

तर, ९१औँ मिनेटमा गोल गर्दै सावित्रा भण्डारीले नेपाललाई हारबाट जोगाइन्। निर्धारित ९० मिनेटको खेल सकिएपछि चार मिनेट समय थपिएको थियो। त्यसको पहिलो मिनेटमै सावित्राले गोलपोस्टनजिकबाट बललाई जाली चुमाइन्।

डिबक्सबाहिरबाट उनले नै क्रस गरेको बल बंगलादेशका डिफेन्डरले क्लियर गर्न नसक्दा डिबक्सभित्र रहेका नेपाली खेलाडीको खुट्टामा बल पुगेको थियो। त्यही क्रममा नेपाली साम्बाले पोस्टको ठीकअघि बल प्राप्त गरेकी थिइन्।

सावित्रा दक्षिण एसियाकै सर्वाधिक सफल महिला फुटबलर हुन्। कुनै पनि वेला खेलको परिणाम बदल्न सक्ने क्षमता राख्ने सावित्रालाई आज बंगलादेशका डिफेन्डरले सुरुदेखि नै मार्क गरिरहेका थिए।

अन्तिममा गोल गर्दै खेल बराबरीमा गरे पनि नेपालले गोलका थुप्रै अवसर खेर फालेको थियो। नेपाली स्ट्राइकर फिनिसिङमा लगातार चुकेका थिए। गोलका केही सहज अवसर पनि खेर गएका थिए।