नेदरल्यान्ड्स विश्वकपमा छनोट, स्कटल्यान्ड चार विकेटले पराजित

 संवाददाता    २१ असार २०८०, बिहीबार २१:५६     46 जनाले पढ़िसके



Spread the love

काठमाडौं : आईसीसी विश्वकप छनोट क्रिकेटमा स्कटल्यान्डलाई चार विकेटले पराजित गरी नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको छ।

जिम्बावेको बुलाभायोस्थित क्विन्स स्पोर्ट्स एकेडेमीमा २७८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै विश्वकपमा स्थान पक्का गरेको हो।

विश्वकपमा स्थान बनाउन अंक तालिकामा पछाडि रहेको नेदरल्यान्ड्सलाई आजको खेल जसरी पनि जित्नैपर्ने दबाव थियो, त्यो पनि निर्धारित ओभरभन्दा ७ ओभरअघि नै। भयो पनि त्यस्तै।

उसका लागि बस दी लीडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १२३ रनको शतकीय पारी खेले।

यस्तै, विक्रमजित सिंह ४०, सकीब जुल्फीकर ३३ (अविजित), स्कट एडवार्ड्स २५, म्याक्स ओ डाउड २०, वीसली बारेसी ११ र तेजा निदामानुरु १० रनमा आउट हुँदा लोगान भान वीकले १ रनमा अविजित रहे।

स्कटल्यान्डका माइकल लिसेकले दुई तथा मार्क वाट, क्रिस ग्रिएभ्स र ब्रान्डन मकमुलेनले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनायो।

उसका लागि ब्रान्डोन मकमुलनले १०६ रनको शतकीय पारी खेल्दा रिची बेरिङ्गटनले ६४ रन बनाएर अर्धशतकीय पारी खेले।

टोलीका लागि टोमानस माकिन्तोसले अविजित रहँदै ३८ रन बनाउँदा क्रिस्टोफर म्याकब्रेडले ३२ रन जोडे। क्रिस ग्रियभ्स्ले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेदरल्यान्ड्सका बस दी लीडे एक्लैले पाँच, र्यान केलिनले दुई तथा लोगान भान वीकले एक विकेट लिए।