काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत सुपर सिक्सको महत्वपूर्ण खेल आज हुदै छ । जसमा स्कटल्याण्ड र नेदरल्याण्डसबीच भिडन्त हुदै छ ।
यो खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि बुलावायो क्रिकेट मैदानमा हुने छ ।
यस खेलको नतिजा पछि विश्वकपमा छनौट हुने दोस्रो टिमको टुंगो लाग्ने भएको छ ।
अहिलेसम्म श्रीलंकाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने वेस्ट इन्डिज र जिम्बाबे विश्वकप छनौटको दौडबाट बाहिर भइसकेका छन् ।
सुपर सिक्समा स्कटल्याण्डले लगातार राम्रो नतिजा निकाल्दै विश्वकपमा छनौट हुने सम्भावनालाई बलियो बनाएको छ ।

स्कटल्याण्डले सुपर सिक्समा जिम्बाबे र वेस्टइन्डिजलाई पराजित गरेर सनसनी मच्चाएको छ ।
त्यस्तै नेदरल्याण्डसले सुपर सिक्समा श्रीलंकासँग हार बेहोरेको थियो भने ओमानलाई पराजित गरेको थियो ।
स्कटल्याण्डको ३ खेलमा ६ अंक रहेको छ र अहिले दोस्रो स्थानमा छ । नेदरल्याण्डसविरुद्धको यो खेल जितेमा स्कटल्याण्डले सिधै विश्वकपमा स्थान बनाउने छ । तर नेदरल्याण्डले स्कटल्याण्डलाई पराजित गरेर विश्वकपमा छनौट हुन भने ठुलो अन्तरको जित निकाल्नु पर्ने हुन्छ । त्यस अवस्थामा रनरेटबाट विश्वकपमा छनौट हुने टिमको निर्णय हुने छ । हाल स्कटल्याण्डको रन रेट ०.२९६ रहेको नेदरल्याण्डसको -०.०४२ रहेकाले स्कटल्याण्ड पराजित भएर पनि विश्वकपमा छनौट हुने सम्भावना देखिन्छ ।