नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा विश्वविजेता वेस्ट इन्डिजसँग पराजित भएको छ । बिहीवार भएको आफ्नो तेस्रो खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।
जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २ सय ३८ रनमा समेटिएको हो ।
नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भए । साथै गुल्सान झा ५८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउँदै आउट भए ।
त्यस्तै, कप्तान रोहित पौडेलले ३० रन, आसिफ शेख र करण केसीले समान २८/२८ रन जोडे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २/२ विकेट लिए । कायल मेयर्सको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनाएकाे हाे ।
वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिए ।
त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।
बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।
दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।