नेपाल पहिलो खेलमै कुवेतसँग पराजित

 फूटबल     २०८०, ६ असार बुधबार २२:१२     96 जनाले पढ़िसके



Spread the love

साविक उपविजेता नेपालले साफ च्याम्पियनसिप २०२३ लाई हारबाट सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल बलियो कुवेतविरुद्ध ३-१ गोलअन्तरले पराजित भएको हो ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल तथा दोस्रो हाफमा एक गोल थप्यो । नेपालले एक गोल मात्रै फर्कायो ।

कुवेतका लागि खेलको २२औं मिनेटमा कप्तान खालिद हजिअले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै अग्रता दोब्बर बनाए । यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।

त्यसैगरी ६३औँ मिनेटमा नेपालका डिफेण्डर अनन्त तामाङले डिबक्समा ह्याण्ड गरेपछि कुवेतले पेनाल्टी पायो, जसमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै ३-० गोलको अग्रता दिलाए । त्यसपछि ६८ औं मिनेटमा नेपालका अञ्जन विष्टले उत्कृष्ट गोल गरे । तर, बाँकी समयमा थप गोल हुन नसक्दा कुवेत ३-१ले विजयी बन्यो ।

यस जितसँगै समूह एमा रहेको कुवेतले पहिलो खेलमै ३ अंक जोडेको छ भने नेपाल अंकविहीन छ । अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको थियो, तर भारतसँग स्तब्ध हुँदै उपविजेतामै सिमित बनेको थियो ।