च्याम्पियन चर्च ब्वाइज : पेनाल्टीमा थ्रीस्टारको जीत, एपीएफ झर्यो बि क्लवमा

 #सहिद स्मारक लिग     २०८०, २८ जेष्ठ आईतवार १०:३७     90 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — केही खेलका नतिजा यस्ता हुन्छन्, जुन अपेक्षित हुन्छ । त्यो संयोगले जुरेको हुनसक्छ । त्यो परिस्थितिले जुराएको पनि हुनसक्छ ।

थ्रीस्टार क्लबले ललितपुर ‘छिमेकी’ जावलाखेलमाथि शनिबार पाएको जित यस्तै रह्यो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० मा थ्रीस्टारलाई रेलिगेसनबाट बच्न जावलाखेलविरुद्ध निश्चित जित आवश्यक थियो । हारमात्र होइन, बराबरी पनि स्वीकार्य थिएन ।

आखिरमा यस्तै भयो । थ्रीस्टारको जित वास्तवमै कुनै सिनेमाको पटकथा जस्तै रह्यो ।

थ्रीस्टारले पूरा खेल अवधिमा लगातार आक्रमण बुनिरहेको थियो । जावलाखेल पूर्णतः मैदानको आफ्नो आधा भागमै व्यस्त रह्यो ।

जावखेललले आक्रामक नभइ रक्षात्मक रहन उचित ठान्यो। यसबीच पनि थ्रीस्टारले गोल निकाल्न सकिरहेको थिएन । खेल सकिन सात मिनेटअगाडि थ्रीस्टारले पेनाल्टी अवसर पायो । आफ्नो खेल जीवनको अन्तिम खेल खेलिरहेका थ्रीस्टार कप्तान विक्रम लामालाई प्रमिन श्रेष्ठले पेनाल्टी एरियामा लडाएपछि त्यो नै निर्णायक बन्यो ।

विक्रम पेनाल्टीमा गोल गर्न चुकेनन् । यो जितपछि थ्रीस्टारको ३२ अंक भएको छ । टोलीको स्थान माथि चढेर नवौं स्थानमा पुग्यो । यो खेलअगाडि थ्रीस्टार १३ औं स्थानमा थियो ।

यही नतिजाले विभागीय क्लब एपीएफ भने रेलिगेसनमा पर्‍यो । अघिल्लो दिन फ्रेन्ड्ससँग पराजित एपीएफ ३० अंकसहित १३ औं स्थानमा झर्‍यो ।

क्लब इतिहासमै सबैभन्दा खराब खेलिरहेको थ्रीस्टारको यो १४ खेलयता पहिलो जित हो । लिगको १५ औं चरणमा संकटालाई हराएयता थ्रीस्टारले बल्ल जावलाखेलमाथि जितको स्वाद चाख्यो ।