दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो दोसो अभ्यास खेलमा पराजित भएको छ । दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्याण्डसँग पाँच विकेटले पराजित भएको छ ।
नेपालले दिएको १५७ रनको लक्ष्य नेदरल्याण्डले ३६.१ ओभरमा पाँच विकेट गुमाउँदै भेटएको थियो । नेदरल्याण्डका लागि सर्वाधिक रन विस्ली बार्सीले ६३ रन बनाए । त्यस्तै सख जुल्फिक्वार र कप्तान स्कट एडवार्डले समान २२ रन बनाउँदा विक्रमजित सिंहले २१ रन बनाए ।
नेपालका लागि गुल्सन झा र ललित नारायण राजवंशीले समान दुई दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका सुरुवाती चार ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख क्रमस ९ र ४ रनमा आउट भए ।
त्यस्तै अर्जुन साउदले चार र दिपेन्द्र सिंह छ रन बनाए । नेपालले पहिलो पाँच विकेट सात ओभरमा २६ रन बनाउँदा गुमाएको थियो । नेपालका लागि सर्वाधिक रन कप्तान रोहित पौडेलले बनाए । उनले ३० रनको योगदान गरे । गुल्शन झाले २४, प्रतिश जिसीले १९ तथा आरिफ शेख र सोमपाल कामीले समान १८ रनको योगदान गरे । भिम सार्की १० रनमा पविलियन फर्कदा किशोर महतो एक रनमा अविजित रहे ।
नेपाललाई सस्तैमा समेट्न लोगान भान बिक एक्लैले पाँच विकेट लिए । त्यस्तै क्लेटन फ्लोइडले दुई तथा रायन केलिन र शारिज अहम्मदले समान एक एक विकेट लिए ।
यसअघि पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।