नेपाल स्कटल्यान्डसँग पराजित

 #नेपाली क्रीकेट     २०८०, २५ जेष्ठ बिहीबार १९:११     77 जनाले पढ़िसके



Spread the love

नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ । बिहीवार भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले जितका लागि दिएको १ सय ३६ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २८ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले सर्वाधिक ५९ रनको योगदान दिए । साथै कप्तान रिकी वेरिंटनले ४१ रन जोडे । उनीहरु दुवै अविजित रहे ।

नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रनको योगदान गरे ।

त्यस्तै ओपनर आसिफ शेखले २८ रन बनाउँदा कुशल भुर्तेल १६ रनमा आउट भए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए ।

स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले समान ३/३ विकेट लिए । साथै शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एकएक विकेट लिए ।

नेपालले दुई सातापछि जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गरिरहेको छ । अब नेपालले दक्षिण अफ्रिकामा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फोटो:फाईल