ए डिभिजन : सातदोबाटोसँग एपिएफ पराजित,चर्च ब्वाइज आर्मीसंग पराजित

 #सहिद स्मारक लिग     ३० बैशाख २०८०, शनिबार २१:३७     50 जनाले पढ़िसके



Spread the love

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटोले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सातदोबाटोले एपिएफमाथि ३–० को जित निकालेको हो।

सातदोबाटोको जितमा दीपकराज सिंहले दुई तथा विइलियम अपोकुले एक गोल गरे। योसँगै लिगमा उनले १२ गोल गरेका छन्। जितसँगै सातदोबाटो लिगको लिगको चौथो स्थानमा उक्लिएको छ।

आजै भएको अर्को खेलमा चर्च ब्वाइज त्रिभुवन आर्मी क्लबसँग स्तब्ध बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजमाथि १–० को जित निकालेको हो। आर्मीको जितमा जिलेस्पी जंग कार्कीले गोल गरे। जितसँगै आर्मी लिगको पाँचौँ स्थानमा उक्लिएको छ। हारसँगै शीर्ष स्थानमा पुग्ने चर्च ब्वाइजको सम्भावना टरेको छ। हारका बाबजुद चर्च ब्वाइज दोस्रो स्थानमा यथावत् छ।

आजै भएको अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टारलाई पराजित गरेको छ। च्यासल खेल मैदानमा भएको खेलमा थ्री स्टारमाथि १–० को जित निकाल्दै मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको हो। मच्छिन्द्रको जितमा खेलको १० औँ मिनेटमा जापानी खेलाडी युता सुजुकीले गरेको गोल निर्णाय बन्यो। ओलावाले हाफिजले प्रहार गरेको बल थ्रीस्टारका किपर पूर्ण चेम्जोङले छेक्ने प्रयास गरे पनि सुजुकीले रिबाउण्डमा जाली चुमाउन सफल रहे। जितसँगै मच्छिन्द्रले २७ अंक जोडेर तेस्रो स्थान कब्जा गरेको छ।

जारी लिगमा ३० अंक सहित जावलाखेल शीर्ष स्थानमा छ। समान अंकको चर्च ब्वाइज दोस्रो तथा २७ अंकको मच्छिन्द्र तेस्रो स्थानमा छ। खुमलाटार र फ्रेण्ड्स दुबै टोली रेलिगेशन जोनमा संघर्षरत छन्।