एसिसी कप :सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा प्रवेश

 #नेपाली क्रीकेट     २०८०, १४ बैशाख बिहीबार १६:२४     95 जनाले पढ़िसके



Spread the love

काठमाडौं, सुरुवातमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल कतारविरुद्ध उत्कृष्ट बलिङ गर्दै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन्दीप लामिछानेले अलराउन्डर प्रदर्शन गरेपछि नेपाले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई ६८ रनले हरायो । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

जितका लागि नेपालले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो ।

कतारका लागि खुर्रम शाहजाद र जाहिर इब्राहिमले समान १५/१५ रन बनाए। अमिर फरिकले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा सानदार प्रदर्शन गरेको नेपालका लागि बलिङमा सन्दीप लामिछानेले पाँच विकेट लिए । सन्दीपले ९.१ ओभर बलिङ गर्दै १४ रन खर्चिएर उक्त विकेट लिएका हुन । सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको सहयोगमा उक्त रन जोडेका हुन ।

यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११र११ रन बनाए ।

बलिङमा कतारका अमिर फारोक्युले चार विकेट, ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए ।

जितसँगै समूह विजेता बनेको नेपालले चार खेलबाट सात अंक बनायो । ६ अंक बनाएको ओमान समूह उपविजेता बन्यो ।

कतार, मलेसिया र साउदी अरब प्रतियोगिताबाट बाहिरीएका छन् । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

कतारविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।