तिलोत्तमा गोल्डकपको उपाधिका लागि सुदूरपश्चिम–११ र मनाङ मर्स्याङ्दी

 संवाददाता    २०७९, ९ चैत्र बिहीबार १९:३९     110 जनाले पढ़िसके



Spread the love

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औं संस्करणमा उपाधिका लागि सुदूरपश्चिम–११ र मनाङ मर्स्याङ्दी भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ४–३ ले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै मनाङले उपाधिका लागि सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो । खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा मनाङका जीयनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरे । फ्रेण्ड्स क्लबका अमित तामाङ, टोरिक जिब्रन र उत्तम राईले गोल गरे । फ्रेण्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्न सकेनन् । फ्रेण्ड्सविरुद्ध मनाङका कप्तान आशिष गुरुङ म्यान अफ दी म्याच भए ।

प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, रक्षक र प्रशिक्षकले जनही ३० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । त्यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’लाई ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताए ।