प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई प्रोत्साहन दिंदै जनही तीन लाख पुरस्कारको घोषणा

 प्रधानमन्त्री     २०७९, ३ चैत्र शुक्रबार १३:३२     115 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’
‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू। तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।