आसिफ र सन्दीपको उत्कृष्ट प्रदर्शनले पीएनजीविरुद्ध नेपालको सहज जित

 #नेपाली क्रीकेट     २०७९, २५ फाल्गुन बिहीबार १७:२०     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ब्याटिङमा आसिफ शेख र बलिङमा सन्दीप लामिछाने चम्किएपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनाउन सक्यो । त्यसअघि आसिफले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि कीर्तिपुरमै नामिबियाले प्रस्तुत गरेको २८७ रनको लक्ष्य भेट्टाउनु नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोर थियो । यस्तै, पीएनजीविरुद्धको यो लक्ष्य एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गरेर खडा गरेको सबैभन्दा ठूलो योगफल पनि हो ।

नेपालले यसअघि २०२२ मा पीएनजीविरुद्ध नै २७८ रनको योगफल खडा गरेको थियो । यो नै नेपालले पहिले ब्याटिङ गरेर उच्च योगफल थियो ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आसिफले ११० बलमा १२ चौका र दुई छक्कासहित ११० रन बनाएपछि नेपाल विशाल योगफलतर्फ अघि बढेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो पहिलो शतक हो । यस्तै, पीएनजीविरुद्ध ९० रन बनाएसँगै आसिफले एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गरे । आसिफ नेपालबाट एक हजार रन बनाउने दोस्रो ब्याटर बने । आसिफअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा एक हजार रन बनाएका थिए ।

आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारी गरे । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि नेपालले बनाएको दोस्रो उच्च साझेदारी हो । कुशल ५६ बलमा ६ चौकासहित ४५ रन बनाएर पभेलियन फर्किए । यसअघि आसिफ र कुशलले नै ओमानविरुद्ध २०२२ मा नेपाली टिमबाट पहिलो विकेटका लागि एकदिवसीय क्रिकेटकै उच्च ११४ रनको साझेदारी गरेका थिए ।

पीएनजीविरुद्ध भीम सार्कीले ४४ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन थपे । आरिफ शेखले १५ रन जोड्दा सोमपाल कामी चार रनमा अविजित रहे ।

पीएनजीका सेमो कामेअले पाँच विकेट लिएका थिए । कामेअले ९.१ ओभरमा ३८ रनमात्र खर्चिए । रिले हेकुरेले तीन विकेट लिँदा एलेइ नाओले एक विकेट लिए ।

२९८ रन पछ्याएको पीएनजीका ओपनर टोनी उराले ५० रन बनाए । उराले पहिलो विकेटका लागि किप्लिन डोरिगासँग ७७ रनको साझेदारी गर्दै पीएनजीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछि नेपाली बलर हावी हुँदा पाहुना टिम २४५ रनमै समेटियो ।

डोरिगा २६ रनमा पभेलियन फर्किए । कप्तान असद भालाले ४२, रिले हेकुरेले २० र चाल्र्स एमिनीले १४ रन जोडे । आठौं नम्बरमा ब्याटिङका लागि आएका नोमर्न भानुअले ६० रन पीएनजीको हारलाई अझ फराकिलो हुनबाट बचाए ।

पीएनजीलाई कम योगफलमा रोक्न सन्दीपले चार विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ३७ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

जितसँगै ३३ खेलबाट ३४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौ स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन नेपाललाई अब बाँकी तीन खेलमध्ये एकमा जितको नतिजा पर्याप्त बन्नेछ । तर, लिग–२ को शीर्ष तीनमा रहन भने नेपाललाई अबका तीनवटै खेलमा जितको आवश्यकता छ ।

३३ खेलबाट नौ अंक जोडेको पीएनजी तालिकाको पुछारमा छ । ३२ खेलबाट ३१ अंक जोडेको यूएई छैटौं स्थानमा छ ।

लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखि ९ जुलाइसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखि ४ अप्रिलसम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगको शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रुपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।