भुर्तेलको अर्धशतक
विश्वकप लिग–२ अन्तर्गत एक सय २९औँ खेलमा टस हार्दै पिएनजीले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन जोड्यो । कुशल मल्लले सेसे बाउको ओभरमा चौका प्रहार गर्दै नेपालका लागि विजयी रन बटुले । कुशलले १४ बलमा १२ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखबीच पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी भएको थियो । दोस्रो ओपनर आसिफले उराबाट रनआउट हुनुअघि ३९ बलमा ४४ रन बनाए । उनले आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे । त्यसपछि भुर्तेलले कप्तान रोहितसँग तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरे । इनिङ्सको २१.३ ओभरमा कुशलले आफ्नो विकेट गुमाए । यसक्रममा उनले ५९ बलको सामना गरी पाँच चौकाको सहयोगमा ५६ रन बनाए ।
यसैगरी, नेपालका बलर गुलसन झाले पिएनजीविरुद्ध उत्कृष्ट बलिङ गर्न सफल भए । गुलसनले ९ ओभरमा २८ रन खर्चिएर तीन विकेट लिएका थिए । यसैगरी, कुशलले दुई विकेट हात पारे । सोमपाल कामी, करण केसी र डेब्यु गरेका प्रतिशले एक–एक विकेट लिएका थिए । ब्याटिङमा पिएनजीका कप्तान असाद भाला र चाद सुपरले सर्वाधिक समान ३६ रन बनाएका थिए । चादले ५३ बलमा अविजित ३६ रन बनाएका थिए ।
हङकङमाथि नेपाल ९ विकेटले विजयी
नेपाली यू–१९ क्रिकेट टोलीले आइसिसी यू–१९ विश्वकप एसियन छनोटमा लगातार तेस्रो जित निकालेको छ । नेपालले सोमबार हङकङलाई नौ विकेटले हराउँदै छनोट प्रतियोगितामा ह्याट्रिक जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रन मात्र बनायो । प्रत्युत्तरमा नेपालले २७ ओभरमा एक विकेटको नोक्सानीमा एक सय २६ रन बनायो ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको युएईले ६ अंक जोडेको छ । नेपालले पनि तीन खेलबाटै समान ६ अंक हात पारेको छ । रनरेटमा युएई शीर्ष स्थानमा छ । प्रतियोगिताको च्याम्पियन टोलीले यू–१९ विश्वकप खेल्नेछ । छनोट खेलमा मलेसिया, सिंगापुर र हङकङले समान तीन खेलबाट दुई–दुई अंक जोडेका छन् । कुवेतले तीन खेल नै गुमाएको छ ।
आकाशको अर्धशतक
सहज लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आकाश त्रिपाठीले नटआउट अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ७२ बलको सामना गरी ६४ रन बनाए । यसक्रममा आकाशले पाँच चौका र चार छक्का प्रहार गरे । नेपालले पहिलो विकेट ५.२ ओभरमा गुमाएको थियो । अर्जुन कुमालले १२ बलमा १६ रन जोडे । उनी विकेटपछाडि अंश रुपेशबाट क्याचआउट भए ।
त्यसपछि आकाशले उत्तम थापामगरसँग दोस्रो विकेटका लागि ९३ रनको अविजित साझेदारी गरेका थिए । उत्तमले ५० बलमा चार चौकाको सहयोगमा ३९ रनको योगदान दिए । नेपालले सात अतिरिक्त रन पाएको थियो । बलिङका क्रममा हङकङका डयानिल मार्गोनले १५ रन खर्चेर एक विकेट लिए ।
हेमन्तको घातक बलिङ
हङकङले नेपाली बलरको सामना गर्न सकेन । ओपनर बलरद्वय हेमन्त धामी र आकाश चन्दले एकआपसमा पाँच विकेट लिँदा हङकङको ब्याटिङ कमजोर भयो । इनिङ्सको २.३ ओभरमै नेपाली बलरले हङकङको विकेट लिएका थिए । हेमन्तले नौ ओभरमा १९ रन खर्चेर तीन विकेट हात पारे । उनले तीन मेडन ओभर पनि फ्याँके । यसैगरी, आकाशले ८.३ ओभरमा ४३ रन खर्चंदै दुई विकेट लिए ।
सन्दीपलाई राख्न आइसिसीसँग अनुमति माग्छौँ : अध्यक्ष चन्द
सर्वाेच्च अदालतले विदेश जान स्वीकृति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसीसँग सन्दीप लामिछानेलाई टोलीमा समावेश गर्न अनुमति माग्ने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई टोलीमा राख्न आइसिसीसँग अनुमति माग्ने बताएका हुन् । ‘अदालतको आदेशसँगै हामी आइसिसीसँग वार्तालाप गरिरहेका छौँ, सन्दीपलाई टोलीमा राख्न अनुमति माग्छौँ,’ चन्दले नयाँ पत्रिकासँग भने ।
यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा विदेश जान रोकसहित विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसपछि सन्दीपले घरेलु मैदानमा आयोजना भएको नेपाल, स्कटल्यान्ड र नामिबियाविरुद्धको शृंखला खेलेका थिए । चार खेल खेलेका सन्दीपले १३ विकेट लिएका थिए । शृंखलापछि सन्दीपले विदेश जान पाउने मागसहित अदालतमा रिट हालेका थिए । सोमबार न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । ‘हामीले आइसिसीको टेक्निकल कमिटीलाई सन्दीपलाई विदेश जान अनुमति आएको बताउँछौँ, उताबाट अनुमति आए भिसा लगाउनेछौँ,’ चन्दले भने । नेपाली टोली युएईमा छ । नेपालले २ मार्चमा आयोजक युएईसँग खेल्नेछ । यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ।