काठमाडौंको अव्यवस्थित सार्वजनिक यातायातको विकल्प ‘पड वे’, पानी जहाज र रेलको जस्तो सपना नबनोस

 प्रविधी र विकास     २०७९, १० फाल्गुन बुधबार १९:४७     261 जनाले पढ़िसके



Spread the love

धिरज दाहाल,

काठमाडौं । नेपालमा सार्वजनिक यातायात प्रणाली निकै कमजोर र अस्तव्यस्त छ । काठमाडौं उपत्यका र देशका ठूला सहरी क्षेत्रमा ट्राफिक जाम मुख्य समस्या बन्दै गएको छ । बढ्दो सवारी चाप, साँघुरा सडक, अस्तव्यस्त सवारी र त्यसको व्यवस्थापन सहज नगरिनुको कारणले छोटो दूरीको यात्रा गर्न पनि आम जनतालाई घण्टौं लगाउनुपर्ने बाध्यता रहेको छ । जसले आम नागरिकको दैनिकी समेत प्रभावित बन्दै आएको छ ।

देशभर गुड्ने सवारी साधन मध्ये सार्वजनिक सवारीको संख्या करिब २० प्रतिशत मात्रै रहेको छ । जबकी दुईतिहाई बढी जनता सार्वजनिक यातायातको निर्भरतामा छन। देशमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनको माग बढ्दो छ । सवारी दर्ताको वार्षिक वृद्धि दर १६ प्रतिशतभन्दा बढी छ । सन २०१९ मा यातायात व्यवस्थापन विभागले जारी गरेको को सार्वजनिक सवारीसाधनको उपत्यकामा रहेको संख्या कुल सवारी साधन मध्ये जम्मा २.६७ प्रतिशत मात्र रहेको कुराले पनि सार्वजनिक यातायातको उपलब्धता कस्तो छ बताउँछ । सार्वजनिक यातायातका साधनभन्दा निजी सवारीप्रतिको आकर्षण रहेको देखाउँछ । कारण सार्वजनिक यातायात सरल, सहज, छिटो, छरितो, व्यस्थित नहुँदा आम मानिस बाध्य भएर निजी साधन खरिद तर्फ आकर्षित भएका छन । जति धेरै निजि सवारीसाधन त्यति धेरै काठमाडौंको सडक अव्यवस्थित हुने क्रम पछिल्लो दशकमा बढ्दो छ।

काठमाडौंसहित देशको सवारी व्यवस्थापन र सहज बनाउनका लागि मोनो रेल, मेट्रो रेल, ठूला बिजुली बस चलाउनुपर्ने जस्ता आवाज विज्ञ तथा सरोकारवालाले उठाउँदै आएका छन् । राजनीतिक दलका नेता र सरकारले समेत बिना अध्ययन बेलाबखत मोनो, मेट्रो रेल बनाउने हावादारी भाषण गरि नै रहेका छन। तर पनि कुनै पनि सरकार अथवा नेताको नजरमा यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर अध्ययन अनुसन्धान तथा सर्वेक्षण गर्न गराउन सरकारी तवरबाट अग्रसरता लिएको बुझिंदैन। यद्यपि छोटो कार्यकालमा यस महेन्द्रमालाका सम्पादकले त्यस बेला भर्खरै नियुक्त भएक शहरी विकास मन्त्री मेटमणी चौधरीले मन्त्री भएपछी केहिदिन पश्चात गरेको पत्रकार सम्मेलनमा बढ्दो अव्यवस्थित काठमाडौको सार्वजनिक यातायातलाई कसरी व्यवस्थित गर्ने योजना बनाउनु भएको छ भनेर सोध्दा उनले पड वे को नाम लिएका थिए र मेरो कार्यकालमा अगाडि बढांउछु भनेका थिए । उनको लगभग छोटो समयको कार्यकालमा उनले केही प्रयास गरेर यसको अध्ययनका लागि बजेट माग गर्दै अर्थमन्त्रालय सँग बजेट माग गर्दै पत्र पठाएका थिए तर फेरि निर्वाचन पश्चात नया सरकार आयो नयाँ मान्छे आए अब के हुन्छ थाहा छैन। यस्ता विकास र जनताका दैनिकी संग जोडिएको विकास निर्माणको कुरालाई जुनै सरकार आउँदा पनि चासो लिएर काम अगाडि बढाउन जरुरी रहेको छ।

साथै, सडकमा हुने जाम घटाउनका लागि पूर्वाधारका रूपमा अन्डरपास, फ्लाइओभर निर्माण गर्ने योजना घोषणा गर्दै आइए पनि हालसम्म कथा कै रुपमा मात्र रहेका छन । उपत्यकामा दर्जनौं चोकमा फ्लाइओभर र अण्डरपास बनाउन अति जरुरी भइसकेको छ तर, अहिलेसम्म सरकारी निकाय कागज र गफमै सीमित छ । यद्यपि, हाल ललितपुरको ग्वार्कोमा भने फ्लाइओभर निर्माण सुरू भएको छ ।

नेपालको अव्यवस्थित सार्वजनिक यातायातको व्यवस्थित विकल्प बन्न सक्ने ‘पड वे’ के हो ?

यसैबीच, अस्तव्यस्त सवारी व्यवस्थापन र सार्वजनिक यातायातलाई सहज तथा छरितो बनाउन माइक्रो रेल (पड वे) संचालनको योजना अघि सारिएको छ । निजी क्षेत्रको कम्पनी पोड वेको पहलमा यो योजना अघि बढेको हो । पड वे कम्पनीका उपाध्यक्ष निल भट्टराई काठमाडौं उपत्यका भित्रको सडकमा सवारी चाप घटाउन माइक्रो रेलले ठूलो भूमिका खेल्ने बताउँछन् ।

उनका अनुसार देशका मुख्य सहर र अन्य सहरभित्र अत्याधुनिक कम्प्युटर नियन्त्रित (AI) जडित सार्वजनिक यातायातको रुपमा यो पोड वे सञ्चालनमा ल्याउने तयारी गरिएको हो । यस परियोजनाका लागि स्वीकृति लिइसकेको र नितीगत रूपमा कुनै अवरोध नभएको उनले बताए ।

यसैक्रममा, केही नगरपालिकासँग दुई पक्षीय सम्झौता समेत गरिसकेको उनले जानकारी दिए । अन्य ६ निकायसँग निकट भविष्यमा सम्झौता गर्ने तयारी रहेको उनले बताए । ‘हामीले विभिन्न निकायहरूसँग छलफल गरिरहेका छौँ, केहीसँग दुई पक्षीय सम्झौता समेत भइसकेको छ, केही निकायहरूसँग सम्झौताको तयारी भइरहेको छ,’ भट्टराईले महेन्द्रमाला खबरसंग भने । यस्तै अन्य जानकारी चाहिएमा उक्त कम्पनीको वेबसाईट podwaynepal.com मा गएर हेर्न तथा सम्पर्क गर्न सकिने उनले बताए।

पड वे नेपालका अध्यक्ष जान वाल (दायाँ) र उपाध्यक्ष निल भट्टराई (बायाँ)

पड वे कम्पनीका उपाध्यक्ष निल भट्टराईले कम्पनीले देशभर चरणवद्दरुपमा माइक्रो रेल सञ्चालनमा ल्याउने तयारी गरेको बताए । भट्टराईका अनुसार सुरूमा काठमाडौं उपत्यका भित्र १०० किलोमिटरमा माइक्रो रेल सञ्चालन गर्ने लक्ष्य उनको कम्पनीको रहेको उनले बताए।

सहरी क्षेत्रलाई विकेन्द्रीत गर्न समेत यस यातायात सञ्जालले सघाउने भन्दै उनले चक्रपथलाई मात्र प्राथमिकता नदिई अन्य क्षेत्रबाट समेत चक्रपथमा पडवे नेटवर्कले जोड्ने उनले बताए। यातायात सहजताका लागि यसले सघाउ पुर्याउने बताए । जस्तो सुन्दरीजलको रुट बाट ल्याएर चावहिल जोड्ने, कपन रुटबाट ल्याएर सुकेधारा रिंगरोड जोड्ने , बुढानिलकण्ठ बाट ल्याएर महाराजगंज जोड्ने , गोदावरी बाट ल्याएर साटदोबटो अनि खोकना चापागांउ लगायतका रुटबाट सातदोबाटो , एकान्तकुना जोड्दा पड्वे को सेवा प्रभावकारी तथा बिकेन्द्रीत तथा जनस्तरमा पुग्ने तथा सार्वजनिक यातायातको वास्तविक आवश्यकता भएका व्यक्ती सम्म यसको पहुंचको अनुभव गर्न सकिने उनको बुझाइ छ।

यस पड वेको माधयमबाट ७ मिनेटमा सुन्दरीजलको मान्छे बौद्ध आवतजावत गर्न सक्ने उनले बताए । यस्तै बौद्धको मान्छे पडवे चडेर ७ मिनेटमा न्यूरोड पुग्न सक्छ । आजको दिनमा बौद्धबाट न्यूरोड पुग्न १ घण्टा लाग्छ ।

पड वे भनेको एक किसिमको तारमा गुड्ने माइक्रो रेल हो । पड वे दुईतिर पोल राखेर बीचमा तार(तार जस्तै केही मोटो जसलाई अंग्रेजीमा string भनिन्छ) टाँगिएको हुन्छ । यो सडकको बीचबाट माथि गुडाउन सकिन्छ । यसको पोलको दूरी अधिकतम ३ किलोमिटरसम्म राख्न मिल्छ । यो स्ट्रिङ बेस टेक्नोलोजी हो ।

यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्धारा आफैं प्रविधिको सहयोगमा चल्न सक्छ । यो झन्डै केबलकार जस्तै हो । केबलकार चाहिँ केबल संगै घुम्छ भने यसमा चाहिँ स्ट्रीङ्गमा पड हिंड्छ। केबलकारभन्दा यसको लागत खर्च ५० प्रतिशत सस्तो रहेको भट्टराईले बताए।

सञ्चालन खर्च ८५ प्रतिशत सस्तो पर्ने उनी बताँउछन ।

यो मेट्रो रेल र रेल गुडाउनेभन्दा ३ गुणा सस्तो पूर्वाधार रहेको उनले बताए । माइक्रो रेल युनिकार र युनीबस पनि हुन्छ । यसमध्ये युनीकारमा ६ जना अट्छन भने युनीबसमा १४ जना अट्ने छन् । यसमा ३ वटासम्म युनीबस जोडेर गुडाउन सकिन्छ । युनी बसले १ घण्टामा १५ सय जना यात्रुलाई सेवा पुर्याउन सक्छ ।

विश्वमा ५ वटा कम्पनीले स्ट्रिङ्ग बेस टेक्नोलोजीमा काम गरिरहेका छन् । पड वे नेपालले सन् २०१९ मा क्यानडाका इन्जिनीयरलाई ल्याएर विभिन्न स्थानमा सम्भाव्यता अध्ययन समेत गरेको भट्टराईले बताए ।

कोभिडको समयमा गोकर्णेश्वर नगरपालिकामा पड वे जोड्न छलफल भए पनि २ वटा नगरपालिका जोड्ने भएकाले समन्वयन हुन सकेको थिएन । जबकी गोकर्णेश्वर नगरपालिकाले पडवे सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

राइट अफ वेको निर्णय संघीय सरकारले उपलब्ध गराउनु पर्ने भएकाले यो योजना कार्यान्वयनमा ल्याउन नसकिएको भट्टराईले बताए । यसलाई करिडोरको खोलामा बीचबाट पोडवे सञ्चालन गर्न सकिने उनले बताए । यसमा चढ्नका लागि आकाशे पुल जस्तै स्टेसन बनाइने छ । उक्त आकाशे पुलमा चढेर सजिलै पड वेको यात्रा गर्न सकिने छ ।

सर्वसाधरणलाई लक्षित गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको पड वेमा प्रतिकिलोमिटर १० रुपैयाँ सेवा शुल्क लिइने उनले जानकारी दिए । विद्युतबाट चल्ने पड वेमा विद्युत खपत कम हुनेछ । सहर र यसको भौगोलिक अवस्था अनुसार जस्तो ठाउँमा पनि यसको उचाइ मिलाएर राख्न सकिन्छ । पड वे प्रतिघण्टा १५० किलोमिटर सम्म गुड्न सक्ने उनको दाबी छ ।

‘यस्ता खालका मेगा प्रोजेक्ट एक दिन ढिला हुनु भनेको दिनदिनै लागत बढ्नु हो, त्यसैले काम सुरू गर्न ढिलाई गर्नु हुँदैन,’ भट्टराईले भने । सुरूमा पाइलट प्रोजेक्टको रूपमा लुम्बीनीमा पड वे बनाउने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

यो धेरै सुरक्षीत र सरल यातायातको रूपमा विकास हुन सक्छ । पड वेको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर बेलारुसमा छ । बेलारुस र दुबइमा यो सञ्चालनमा आइसकेको छ । बेलारुस चिसो ठाउँ हो भने दुबइ तातो ठाउँ हो । यो जस्तोसुकै तापक्रममा समेत सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन भइसकेको छ ।

बेलारुसका वैज्ञानिक डाक्टर एनाटोनी युनिष्किले यस विषयमा ४० वर्ष लगाएर अध्ययन गरेका हुन् । २०२० मा यस प्रविधिले विभिन्न देशका सुरक्षा मापदण्ड अनुरुप सुरक्षीत प्रमाणीत गरिसकेको छ । हाल ६ भन्दा बढी देशमा यो सञ्चालनका लागि तयारी भइरहेको छ । इजरायल, मौरिसस, अमेरिका, लगायतका देशमा समेत यसको निर्माणको तयारी भइरहेको उनले बताए ।

नेपालमा संचालनमा ल्याउदा यसका फाइदाहरू

पड वे सञ्चालनमा आए सडकमा सार्वजनिक यातायातमा एउटा फड्को हुने छ। ट्राफिक जाम घट्ने छ । यसले ३ हजार बढीका लागि रोजगारीको अवसर सृजना गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन समेत सघाउ पुर्याउने उनले बताए । साथै हाल उपभोग भैरहेको इन्धनमा भारी कटौती हुने छ। यो पुर्णरुपमा वातावरणमैत्री रहेकोले शून्य प्रदुषण रहेको छ जसले अहिले को वातावरणको असरलाई कम गर्नेछ। कम्पनीले नेपालमा रहेको अन्य इन्जिनीयरिङ कम्पनीसँग मिलेर काम गर्ने योजना बनाएको छ ।

यसले विश्वभर पर्यटकलाई भित्र्याउने र देशको आर्थिक समस्यालाई समाधानको बाटोमा डोर्याउने उनले बताए । पडवे निर्माण गर्दा सरकारले मुआब्जा र जग्गा प्राप्तीको समस्या भोग्नु पर्दैन । सडकको माथिबाट जाने भएकाले आकाशे पुल बनाए पुग्ने भट्टराई बताउँछन् । उनले प्रत्येक १ किलोमिटरको दुरीमा आकाशे पुल राखेर यसलाई सञ्चालन गर्न सकिने बताए । साथै खोलाको बीचबाट पनि यसलाई लान सकिन्छ।

सडकमार्ग बाट सामान ढुवानीको विकल्प पड वे

यसमा कार्गो पनि सञ्चालन गर्न मिल्छ । आजको दिनमा १३ हजार रूपैयाँ बिजुलीले १०० टन सामान १०० किलोमिटरसम्म पुर्याउन सक्ने भट्टराईले जानकारी दिए । यसका लागि वीरगञ्ज र चोभार ड्राइपोर्ट जोड्ने योजना रहेको उनले बताए । पड वेबाट वीरगञ्जमा लोड भएको सामान चोभारमा १ घण्टामा आइपुग्ने उनको दाबी छ । वीरगञ्जदेखि चोभार ड्राइपोर्टसम्म पड वे राख्न झण्डै डेढ सय किलोमिटर दुरीमा हुने उनको भनाइ छ । सडकमार्ग बाट भइरहेको ढुवानीमा बेला बेलामा पहिरोले गर्ने सडक अवरुद्ध तथा हडतालको दिर्घकालिन विकल्प पड वे बन्न सक्ने निश्चित देखिन्छ। यसबाट राज्यले इन्धन आयात गरेर जुन विदेशी मुद्राको संचिति घट्ने काम हालको समयमा भइरहेको छ त्यस खर्चमा व्यापक कटौती हुनेछ। जसले इन्धन आयातमा विदेशिने रकम नियन्त्रण गर्नेछ।

अन्त्यमा

अन्त्यमा जुन कुनै पनि सरकारले यस प्रविधिलाई चांडो भन्दा चाँडो चासो लिएर पहिलो चरणमा सार्वजनिक यातायातले व्याकुल भएको काठमाडौबासीलाई त्राण दिन जरुरी देखिन्छ। विकासको कामलाई जुनसुकै सरकार होस यो वा त्यो नभनी यस किसिमको विकास र प्रविधिले सार्वजनिक यातायातको व्यवस्थापन हुन्छ भने तुरुन्त पहल गर्न जरुरी छ जसको फाईदा रोजगारी सृजनादेखि आन्तरिक अर्थतन्त्र, विदेशी मुद्रा देखि डिजेल पेट्रोलको कहालीलाग्दो आयात सम्म जोडिएको छ। सरकारले लगानी गरेर निर्माण गर्नुपर्ने पुर्वाधारको विकास निजि क्षेत्रबाट वैदेशिक लगानी भित्र्याएर गर्न खोज्दा त्यसलाई सरकारले सहजीकरण गर्न अविलम्ब जरुरी छ।कामना गरौं पड वेलाई नेतृत्वले ध्यानमा राखुन र यसलाई यसभन्दा अघि पानी जहाज र रेलको जस्तो सपना नबनाइयोस।