विश्वकप लिग–२ : स्कटल्याण्ड र नेपाल आज भिड्दै

 #नेपाली क्रीकेट     २०७९, ५ फाल्गुन शुक्रबार ०८:२६     85 जनाले पढ़िसके



Spread the love

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

जारी श्रृंखलामा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । नेपालले यही खेलमा पहिलोपटक नामिबियालाई हराउनुका साथै २ सय ८६ रनको लक्ष्य पूरा गर्‍यो । नेपाल दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध पनि आफ्नो लय कायमै राख्न चाहन्छ ।

यद्यपि स्कटल्याण्डविरुद्ध जित निकाल्न नेपाललाई उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । हालसम्म चार एकदिवसीय अन्तर्राष्ट्रियमध्ये नेपालले स्कटल्याण्डलाई एक खेलमा मात्र हराएको छ ।

१३ जुलाई २०२२ मा भएको विश्वकप लिग–२ कै खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । त्यसयता नेपालले स्कटल्याण्डविरुद्ध लगातार तीन खेलमा पराजय भोगेको छ ।

स्कटल्याण्डविरुद्धको अपराजित यात्रालाई विश्राम दिँदै घरेलु मैदानमा नेपाल थप अर्को इतिहास रच्न चाहन्छ । स्कटल्याण्ड अघिल्लो खेलमा नामिबियालाई १० विकेटले हराएकाले सोही लय नेपालविरुद्ध पनि कायमै राख्ने योजनामा छ ।

प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना

नेपालले स्कटल्याण्डविरुद्ध एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले आज ललितनारायण राजवंशीको स्थानमा युवा अलराउन्डर गुल्शन झालाई मौका दिन सक्छ ।

ललितले नामिबियाविरुद्ध कमजोर प्रदर्शन गरेका थिए । सो खेलमा उनले ६ ओभरमा बिनाविकेट ४० रन खर्चिए । जसकारण प्रशिक्षक मोन्टी देशाईले स्कटल्याण्डविरुद्ध ब्याटिङ पक्ष बलियो बनाउन ललितलाई विश्राम दिएर गुल्शनलाई मौका दिन सक्छन् । गुल्शनले घरेलु मैदानमा बलिङका साथै ब्याटिङ पनि राम्रो गर्दै आएका छन् ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झाला, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।