काठमाडौं । म्यानचेस्टर युनाइटेडले मंगलबार राति इङ्लिस प्रिमियर लिगमा बर्नमाउथमाथि ३–० को सहज विजय हासिल गरेको छ । जितसँगै युनाइटेडले चौथो स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
कतार विश्वकपपछि युनाइटेडले सबै खाले प्रतियोगितामा गरी लगातार चार खेलमा विजयी नतिजा निकालेको छ । यससँगै युनाइटेड १७ खेलबाट ३५ अंक जोडेर लिगको चौथो स्थानमा छ । जुन पाँचौँ स्थानको टोटनहमभन्दा पाँच अंकले माथि हो । तेस्रो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरी हो । न्युक्यासलले अझ एक खेल बढी खेलेको छ । युनाइटेड शीर्ष क्लब आर्सनलभन्दा ९ र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि छ । सिटीले एक खेल कम खेलेको छ ।
गएराति घरेलु मैदानमा युनाइटेडले २३औँ मिनेटमा कासेमिरोको गोलबाट अग्रता लिएको थियो । कासेमिरोले क्रिष्टियन इरिक्सनको फ्रीकिकमा दिएको पासलाई भलीमार्फत पोष्टको दिशा दिएका थिए ।
४९औँ मिनेटमा लुक शोले गरेको गोलबाट युनाइटेडले अग्रता दोब्बर बनायो । बैकल्पिक खेलाडी एलेजान्द्रो गारान्चोको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका शोले गोलमा परिणत गरेका थिए ।
खेल सकिन चार मिनेट बाँकी हुँदा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा अर्को गोल गरेपछि युनाइटेडको जित पक्का भएको हो । रासफोर्डले जारी सिजन सात गोल गरिसकेका छन् । उनी युनाइटेडबाट धेरै गोल गर्ने खेलाडी हुन् ।
जितले युनाइटेडलाई पाँचौं स्थानमा रहेको टोटनह्याम हटस्परमाथि पाँच अंकको अग्रता दिलायो र तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग अंकको बराबरी भयो, जसले शीर्ष स्थानको आर्सनलसँग ०–० को बराबरी खेलेको थियो । बोर्नेमाउथ १५ औं स्थानमा छ, रेलिगेसन जोनभन्दा दुई अंक माथि हो ।