विश्वकप फूटबल अन्तर्गत आज अन्तिम सेमिफाइनल खेलमा फ्रान्सको सामना गर्दै मोरक्को

 विश्वकप फूटबल २०२२     २०७९, २८ मंसिर बुधबार ०९:५९     112 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा आज फ्रान्स र मोरक्को भिड्नेछन् । आजको खेलको विजेताले अर्जेन्टिनासँग उपाधिका लागि फाइनल खेल्ने छ । खेल राति पौने १ बजे हुनेछ ।

साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर फाइनलमा पुग्ने योजनामा मैदान प्रवेश गर्नेछ । यता, मोरक्को भने इतिहास रच्ने प्रयासमा हुनेछ ।

फ्रान्स
फिफा वरीयताको चौथो स्थानमा रहेको फ्रान्स विश्वकपको साविक विजेता हो । विश्वकपको समूह ‘डी’ बाट विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको फ्रान्सले अन्तिम–१६ को खेलमा सेनेगललाई ३–० ले र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएको थियो ।

डिडियर डेसच्याम्पको प्रशिक्षणमा रहेको फ्रान्सले कतार विश्वकपको पनि उपाधि जिते विश्वकपको इतिहासमा इटाली र ब्राजिलपछि लगातार दुई उपाधि रक्षा गर्ने टिम बन्नेछ ।

हालसम्म विश्वकपमा इटाली र ब्राजिलले मात्र उपाधि रक्षा गरेका छन् । इटालीले सन् १९३४ र १९३८ मा भएको विश्वकपको दोस्रो र तेस्रो संस्करणको उपाधि जित्दा ब्राजिलले सन् १९५८ र १९६२ मा भएको छैटौँ र सातौँ संस्करणको उपाधि जितेको थियो ।

सन् १९९८ र २०१८ को विजेता फ्रान्सले अहिलेसम्म विश्वकपका ६ संस्करणको सेमिफाइनल खेलेको छ । यसमध्ये तीन पटक फाइनल खेलेको फ्रान्सले दुईपटक उपाधि जितेको छ ।

DOHA, QATAR – DECEMBER 10: Morocco players pose for a photo prior to the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Michael Steele/Getty Images)

मोरक्को
फिफा वरीयताका आधारमा कतारमा जारी विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को सबैभन्दा तलको टिम हो । फिफा वरीयताको २२ औँ स्थानमा रहेको मोरक्को विश्वकपको इतिहासमा अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम हो । अफ्रिकाबाट यसअघि सेनेगल, क्यामरुन र घानाले विश्वकपको क्वार्टरफाइनल खेलेपनि सेमिफाइनल भने पुग्न सकेका थिएनन् ।जारी विश्वकपमा समूह ‘एफ’ को विजेताको रूपमा नकआउट चरणमा आएको मोरक्कोले अन्तिम–१६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले र क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो ।

विश्वकपको इतिहासमा पहिलोपटक सेमिफाइनल प्रवेश गरेको मोरक्कोले सन् १९७० मा पहिलोपटक विश्वकप खेलेको थियो । त्यसयता विश्वकपको चार संस्करण खेलेको मोरक्कोले १९८६ मा अन्तिम–१६ को यात्रा तय गरेको थियो ।

जारी विश्वकपअघिसम्म यो नै मोरक्कोको विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ ।